aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मास्टर प्लान बनाएर नौ करोड झ्वाम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ भदौ २०७६
मास्टर प्लान बनाएर नौ करोड झ्वाम्म

काठमाडौँ । सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझा साझा स्थानीयबाट करोडौँ रकम ठगी गरेको पाइएको छ।
तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलंगवा नगरपालिका बस्ने श्यामकृष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरूलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिने गरेको खुल्न आएको हो।

कलवारले करिब ३ सय घरपरिवारलाई जबर्जस्ती ऋणको कागज गराएर दुःख दिएको भन्दै पीडितहरू न्याय माग्दै काठमाडौँ आइपुगेका छन् । स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन्। कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोड बराबर पुगिसकेको छ । ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरू बताउँछन्।

 साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर ऋणीलाई तमसुक गराएको छ। नतिरे धम्की दिएको छ। प्रशासन लगाएको छ। मुद्दा लगाएको छ। मानसिक तनाव दिएको छ र कतिलाई आत्महत्या गराउन विवश बनाएको छ।

कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्।

लालबन्दी नगरपालिका ३ की दुर्गा चौधरीले कलवारको ऋण तिर्न नसकेपछि तीन वर्षअघि आत्महत्या गरिन्। चौधरीले उनीबाट पति विदेश पठाउन तीन लाख ऋण लिएका थिइन्। ऋण तिरिसक्दा पनि कलवारले अझै चारगुणा बाँकी रहेको भन्दै तनाव दिएपछि चौधरीले आत्महत्या गरेकी थिइन्। चौधरीले आत्महत्या गरे पनि उनको परिवार ऋणबाट मुक्त भएन।

कलवारले दुर्गाका ससुरा श्रीकान्तलाई पनि नियमित दबाब दिन थाले। मानसिक दबाब सहन नसकेपछि श्रीकान्तले पनि आत्महत्या रोजे। ‘खाना खाने बेला पनि टर्चर दिएकै छ। पाहुना आउँदा पनि टर्चर दिएकै छ। त्यसकारण दुर्गा र उनका ससुराले आत्महत्या गरे’, अर्का पीडित हरीशचन्द्र महतोले भने, ‘त्यो परिवार मात्रै होइन कलवारका कारण धेरै जना यस्तै अवस्थामा पुगेका छन्।’ महतो पनि कलवारका ऋणी हुन्। उनले साढे २ लाख ऋण लिएका छन्। तर, कलवारले महतोसँग ४ वटा कागज गराएका छन्। ५० हजार, ११ लाख, १७ लाख र ४५ लाख गरी साढे ७३ लाखको कागज गराएको महतोले बताए।

ब्याजसहित तिर्न जाँदा ७३ लाखको कागज देखाएपछि आफ्नो होसहवास उडेको महतोले बताए। उनले भने, ‘पैसा तिर्न नसकेपछि मविरुद्ध परदेशीले मुद्दा दर्ता गराए। ममाथि पक्राउ पुर्जी जारी छ। ऋण नै नलिएको पैसा अब कसरी तिर्ने ? ’ ०७२ सालमा सर्लाही हरिपुरकी रीनादेवी साहलाई पनि आर्थिक संकट आइलाग्यो। उनले पतिलाई विदेश पठाउने अठोट गरिन्। तर पैसा थिएन।

गाउँमा नाम चलेका साहु कलवारबाट दुई लाख ऋण लिइन्। ‘कलवारले दुई लाखमा पनि ३० हजार कटाएर पैसा दिए’, उनले भनिन्, ‘कागजचाहिँ तीन लाखकै गरे।’ किस्ता तिर्दै जाँदा उनको ऋण बढ्दै गयो। जतिपटक किस्ता तिर्न गयो त्यति नै पटक कलवारले कागज गर्दै ऋण बढाएको उनको दुःखेसो छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट र नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस