aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अब तीन महिनाको लागि मात्र पनि वैदेशिक रोजगारीमा जान पाइने

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • सोमबार, १८ पुस २०७९
अब तीन महिनाको लागि मात्र पनि वैदेशिक रोजगारीमा जान पाइने

काठमाडौं । सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ। दुई वर्षको मात्रै श्रमस्वीकृति दिइरहेको सरकारले अब तीन महिनादेखि एक वर्षको लागि श्रम स्वीकृति दिने भएको हो । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले मौसमी कामदारको माग अत्यधिक आएकाले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएर पठाउन लागिएको बताए । 

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउन लागिएको हो । छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका बनाएको हो । 

ऐनको दफा ३ र ६ अनुकूल हुने गरी सरकारले द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने जनाइएको छ । नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गर्ने निर्देशिकामा उल्लेख छ । 

ऐनको दफा ३ बमोजिम श्रम सम्बन्ध स्थापना भएपछि मौसमी रोजगारका अवसर दिनका लागि रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानुनबमोजिम रोजगारदाताले सहजीकरण गर्नेछन् । स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरण गर्न पाउनेछन् । विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।  

रोजगारदाताको पूर्ण विवरण (कम्पनीको हकमा सम्बन्धित मुलुकको कानुनअनुसार कम्पनी दर्ता भएको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र), रोजगारीको किसिम र संख्या, आवास, खाना, स्वास्थ्य बिमा र कामदारको सुरक्षा, न्यूनतम सेवा र सुविधाको प्रमाणपत्र पेस गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस