
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे निर्वाचन आयोग नै अन्योलमा देखिएको छ ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा नै कसरी गर्ने भन्ने स्पष्ट व्यवस्था नहुँदा निर्वाचन आयोग अन्योलमा परेको हो । सोही विषयलाई प्रस्ट बनाएर निर्वाचनको मिति तय गर्ने आयोगको तयारी छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे संविधानमा उल्लेख भए पनि शपथबारे अन्योल भएकाले छलफलबाटै निर्णय लिने बताए ।
‘संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि भन्ने व्यवस्था भयो तर नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको शपथ कहिले भन्ने व्यवस्था भएन, अन्योल भएका विषयलाई प्रस्ट पारेर समयभित्रै निर्वाचन गर्ने गरी छलफल गरेरै अघि बढ्छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।
प्रतिक्रिया दिनुहोस