aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नर्भिकमा शुरु भयो मृगौला प्रत्यारोपण सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
नर्भिकमा शुरु भयो मृगौला प्रत्यारोपण सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त सेवा सुरु गरेको जानकारी गराएको हो । 

विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो । यस क्रममा नर्भिकले हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको छ । 

मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ । आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपण सेवा दिँदै आएको छ । सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो ।

तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ । मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मृगौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मृगौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्दछ । यही सम्मेलन मार्फत् नर्भिक इन्टरनेशनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस