aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

विश्वासको मत लिन हतारिए प्रचण्ड, २६ गतेलाई तोकियो मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ पुस २०७९
विश्वासको मत लिन हतारिए प्रचण्ड, २६ गतेलाई तोकियो मिति

काठमााडाैं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका छन् । 

विभिन्न सात राजनीतिक दलसहित कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले एक पत्रमार्फत पुस २६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । 

उनले भने, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिनुहुन आग्रह गर्नुभएको छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।” नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा छन् । 

प्रतिक्रिया दिनुहोस