काठमाडौँ । प्रदेश २ सरकारले बाराकोे निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुखहरु काट्न नदिने भएको छ । विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न संघीय सरकारलाई बुझाउने उसको तयारी छ ।
प्रदेशमा व क्षेत्र ४० प्रतिशत पु-याउने घोषणा गरिएकामा रुख काटेर विमास्थल बनाउँदा अझ घट्ने भएकाले खाली जमिन उपयोगका लागि बुझाउने निष्कर्ष निकालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले बताए । 'निजगढको सट्टा विमानस्थलका लागि प्रदेशभित्रैको खाली जमिन प्रयोग हुनुपर्छ भनेर छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गराउँदै छौं, निजगढमा लाखों रूख काट्न दिदैनौ,' रायले शनिबार सर्लाहीबाट कान्तिपुरसित भने, 'संघीय सरकारले हामीसँग समन्वय नगरी भटाभट गरेको निर्णयप्रति हाम्रो असहमति छ । हामीसँग समन्वय नगरी गरेका निर्णय कार्यान्वयन गर्न पनि दिँदैनौं।'
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास यसै वर्ष गर्ने घोषणा गरिसकेका छन्। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अनुसार प्रस्तावित निर्माणस्थलमा साना-ठूला गरी करिब २४ लाख रूख काट्नुपर्ने हुन्छ। रूख काट्ने पर्यटन मन्त्रालयको प्रस्ताव १४ महिनादेखि संघको वन तथा वातावरण मन्त्रालयमा थन्किएको छ । संघीय सरकारले समन्वय नगरी काम अघि बढाउन लागेको भन्दै प्रदेश २ सरकारले सुरुदेखि नै विरोध गर्दै आएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस