aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

बाटोमै टुट्यो अमेरिकाको सपना

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १९ पुस २०७९
बाटोमै टुट्यो अमेरिकाको सपना

काठमाडौं । ‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ । छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बसेकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत भएकी छिन् । मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ ।

मदनका दाइ कपिल शाहीले गत वर्षको फागुनमा घरबाट निस्केको भाइको मङ्सिर २५ गते मृत्यु भएको खबर सामाजिक सञ्जालमा फैलिएको जानकारी दिए । “घरमा बज्रपात भयो,” कपिलले भने, “कयौँ सपना साँचेर भाइ अमेरिका जान हिँडेको थियो, सबै सपना चकनाचुर भए, परिवारमा बल्नै लागेको खुसीको दियो निभ्यो ।” मृत्युको खबर आधिकारिक रूपमा नआए पनि सँगै गएका साथीमार्फत जङ्गलको खोला किनारमा शव भेटिएको भन्दै परिवारसम्म सूचना आइपुगेको हो । 

आठ वर्षसम्म नेपाली सेनाको जागिर खाएका रुकुमपश्चिमको मुसीकोट नगरपालिका–५, थर्पुगाउँका ४० वर्षीय रमेश गौतमको सपनाको देश अमेरिका थियो । सेनाबाट स्वेच्छिक अवकाश लिएर केही समय घर बसेपछि अवैध बाटो हुँदै अमेरिका जानेक्रममा गत कात्तिक २५ मा पानामाको क्यारेबियन सागरमा रमेशको जीवनयात्रा टुङ्गियो । समुद्रमा उनीसहित २५ जना चढेको डुङ्गा दुर्घटना भएपछि सपनाको देशको यात्रा पानामा सागरमै बिलायो ।

रमेशसँगै थिए रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–७ का २५ वर्षीय प्रदीप खत्री पनि । पहिलो पटकको अवैध यात्रा असफल भएर बीचबाटै नेपाल फर्किएका खत्री दोस्रो पटक अमेरिकी सपना पछ्याउँदै पुनः जाँदा क्यारेबियन सागरमा अस्ताउनु पर्यो ।   

प्रतिक्रिया दिनुहोस