aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

गृहमन्त्री लामिछाने प्रधानमन्त्रीको मातहतको कार्यालयको अनुगमनमा गएपछि...

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, १९ पुस २०७९
गृहमन्त्री लामिछाने प्रधानमन्त्रीको मातहतको कार्यालयको अनुगमनमा गएपछि...

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएपछि रवि लामिछाने परराष्ट्र मन्त्रालयअन्र्तगत रहेको राहदानी विभागको अनुगमनमा निस्के । सञ्चारकर्मीसहित पुगेका लामिछानेले त्यहाँ पासपोर्ट बनाउन आवेदन दिन बसेका सर्वसाधारणलाई सहज बनाउने उपायको खोजीमा रहेको बताएका थिए । त्यहाँ जाँदा सामाजिक सञ्जाल र सञ्चार जगत्ले गृहमन्त्रीको अनुगमनको प्रशंसा गरेका थिए । सरकारले सहजीकरण गर्नुपर्नेमा अहिलेसम्म सहजीकरण नभएको, राहदानी लिन आवेदन फाराम भर्न घन्टौं लाइन बस्नुपर्नेजस्ता समस्या सम्बोधन गर्न नसकेको भन्दै अनुगमनपछि समस्या समाधान हुने अपेक्षा गरेका थिए तर समस्या अहिले पनि उस्तै छ ।

प्रधानमन्त्रीले अहिले लामिछानेलाई गृह मन्त्रालयको मात्रै जिम्मेवारी दिएका छन् । परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीमातहत रहेको छ तर पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने अनुगमनका लागि पुगे । उनले त्यहाँ केही सर्वसाधारण र विभागका महानिर्देशक सुरेन्द्र यादवसँग पनि कुराकानी गरे । त्यहाँ अनुगमन सकेर उनले मन्त्रालयमा समस्या समाधानका लागि बैठकसमेत राखे । उपप्रधानमन्त्री तथा गृहमन्त्री राहदानी विभागको अनुगमनका लागि पुस १३ गते बिहान गएका थिए । त्यहाँको अनुगमन सकेर उनले गृह मन्त्रालयमै बैठक राखेका थिए ।

विभागको अनुगमन गरेर मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादव, मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहितको बैठकमा सहभागी भएका थिए ।

गृह मन्त्रालय स्रोतका अनुसार सो बैठकका राहदानी विभागका महानिर्देशक यादवले आफूहरूले खटेर काम गर्दा पनि अपजस भोगेको बताउँदै विभागमा रहेको आन्तरिक समस्याबारे बाहिरबाट गएर पी गरेजस्तो सहज नभएको बताएका थिए । ‘मन्त्रीज्यू नयाँ हुनुहुन्छ। केही गरौं भन्ने भावनाले अनुगमनमा जानुभएको होला । विभागको समस्या के हो भन्ने बारेमा जानकारी नलिई कर्मचारीहरूले काम नगरेकोजस्तो गरेपछि खाजासमेत नखाई काम गरेका कर्मचारीलाई कसरी काम लगाउने हो, त्यहाँ समस्या समाधान गर्ने गृहले हो कि परराष्ट्रले हो, त्यहाँका कर्मचारी कसरी काम गरिरहेका छन् भन्ने बारेमा मन्त्रीज्यू आएपछि कोसँग कसरी जानकारी लिनुभएको छ, विभागले काम गर्ने क्षमता बढाउन के गर्नुपर्छ भन्ने विषय निक्र्योल हुन सकेन । काम गरिरहेका कर्मचारीको मनोबल खस्काउने काम मात्रै भयो। सीमित स्रोत र साधनका बीच पनि कर्मचारीहरूले काम गरिरहेका छन्,’ बैठकमा उपप्रधानमन्त्री लामिछानेसँग महानिर्देशक यादवले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।  

प्रतिक्रिया दिनुहोस