aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब भने तोडिने भो नक्कली भ्याट बिल बनाएर ठगी गर्ने शृङ्खला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ पुस २०७९
अब भने तोडिने भो नक्कली भ्याट बिल बनाएर ठगी गर्ने शृङ्खला

काठमाडौं । नक्कली विल बनाएर ठगी गर्ने गिरोहको खोजीमा राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग लागेका छन् । नक्कली बिलबिजक तयार गरेर समग्र राजस्व प्रणालीको शृङ्खलामै ठगी गर्ने गिरोह पहिचान गर्नका लागि अब दुई वटै विभाग मिलेर काम गर्ने भएका हुन्।

राजश्व ठगी गर्ने यस्तो गिरोहको गहिराइमा नै पुग्ने र ठगीको शृङ्खला तोड्ने गरी योजना बनाउँदै गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । राजस्व अनुसन्धान विभागले गर्दै आएको नक्कली भ्याट विल सम्बन्धी अनुसन्धानमा आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीले समेत चासो देखाएपछि यस्तो कार्य योजना बन्न सम्भव भएको हो । आर्थिक अपराध मध्ये यस प्रकारको सङ्गिन कसुर गर्ने विरुद्ध आफ्नो दृढता पेस गर्दै मैनालीले भने, ‘नक्कली भ्याट प्रकरणलाई अब जरैदेखि उखेल्न लाग्ने छु । नक्कली भ्याट विल बनाउने गिरोह र उनीहरूको सम्बन्ध रहेका सबैको बारेमा विस्तृतमा अध्ययन गरिने छ ।’

यसबारे सूक्ष्म अध्ययन र अनुसन्धानमा आन्तरिक राजस्व विभाग लागि सकेको बुझिएको छ। राजस्व अनुसन्धान विभागका अनुसार हालसम्म विभागले तयार गरेका नक्कली भ्याट विलसँग सम्बन्धित मुद्दाहरूका सबै फाइलहरू आन्तरिक राजस्व विभागले मागेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा नक्कली भ्याट बनाएर ठगी गर्ने ५३ फर्मका विरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी परेकोमा ४१ वटा फर्मलाई मुद्दा दायर गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ११७ वटा फर्म विरुद्ध उजुरी परेको थियो भने ३८ वटा फर्मका विरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ । त्यसै गरी गत आर्थिक वर्ष २०७८/७९मा ७९ फर्मका विरुद्ध उजुरी परेकोमा ४४ वटा फर्मका विरुद्ध मुद्दा दायर भएका थिए । 

हरेक वर्ष उजुरी बढे पनि मुद्दा दायर भने कम हुनुमा एकै व्यक्तिका नाममा धेरै फर्म दर्ता भएका कारणले यस्तो देखिएको विभागले जनाएको  छ । विभागले मुद्दा दायर गर्न तयार पारेको केही विवरण हेर्दा एक जना व्यक्तिका नाममा १३ वटासम्म फर्म दर्ता गरेर नक्कली भ्याट विल जारी गरेको देखिएको छ । 

गरिब र अशिक्षित परिवारका सदस्यका नाममा फर्म दर्ता गराउने अनि त्यसका नाममा बिल छपाएर जसलाई जस्तो सामानको भ्याट बिल चाहिन्छ त्यस्तै बिल बनाएर दिने र अर्बौँ राजस्व छली गर्ने काम भइरहेको विभागको छानबिनले पत्ता लगाएको थियो । 

केही वर्षदेखि नक्कली विल सम्बन्धी धेरै अध्ययन नभएकाले नक्कली विलका मुद्दा कम भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहालले बताए । यसरी मुद्दा कम हुनुमा गिरोहको चलाखी समेत बढ्नु रहेको जनाउँदै उनले भने, 'नक्कली विल बनाएर ठगी गर्ने क्रम रोकिएको छैन । यो अझ व्यवस्थित तरिकाले गर्न थालेको खबरहरू आइरहेका छन् ।' 

बि. स. २०६५ सालमा गरिएको अध्ययनमा नक्कली भ्याट विल ठगीको पहिलो तहमा मात्र अध्ययन भएर मुद्दाहरू बढाइएको उनले बताए । पछिल्लो पटक नक्कली भ्याट विल ठगीमा दोस्रो, तेस्रो तह बनाएर सङ्गठित रूपमा नै ठगी भइरहेको भेटिएको उनले आर्थिक न्युज डटकमलाई जानकारी दिए । उनले भने, ‘नक्कली विल बनाएर राज्यलाई ठगी गर्नु भनेको अहिले फौजदारी अभियोग अनुसार नै मानिने भएकाले अब यस्तो गतिविधिमा संलग्न हुने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने तयारीमा छौँ ।’ 

विभागका अनुसार ‘नक्कली बिल बनाएर खरिद, आयात, बिक्री गरेपछि त्यसले राजस्व प्रणाली मै ठगी गर्ने विकराल अवस्था देखिएको थियो ।’ कसरी हुन्छ त ठगी भन्ने प्रश्नलाई यसरी पुष्ट्याउछन्, दाहाल, ‘भ्याट छलीको नियत राख्ने कुनै व्यक्तिले कुनै महिना १० लाख रुपैयाँ भ्याट तिर्नुपर्ने भयो भने अर्को महिना १ करोड रुपैयाँको थप खरिद देखाएपछि उसको ‘क्रेडिट’ १२ लाख रुपैयाँ आउने भयो । अब उसलाई थप २ लाख रुपैयाँ ‘क्रेडिट’ आयो, यसरी मिलाउँदै गएर ३८ प्रतिशतसम्म मुनाफा लिएको देखियो ।’

नक्कली बिलबिजक बनाएर ठुलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) छली भएको प्रकरणले करिब १० वर्षअघि राजस्व क्षेत्रमा हलचल सिर्जना गरेको थियो । आन्तरिक राजस्व विभागले करिब एक वर्ष लगाएर गरेको अनुसन्धानले झुट्टा एवं नक्कली भ्याट बिजक बनाई करिब १२० कम्पनीले ६ अर्ब रुपैयाँभन्दा बढीको कर छली गरेका तथ्य सार्वजनिक गरेको थियो । 

विभागका तत्कालीन उप-महानिर्देशक लक्ष्मण अर्यालको संयोजकत्वमा गठित छानबिन समितिले झुट्टा तथा नक्कली बिलबिजक जारी गर्ने ३ सय ८५ फर्ममाथि अनुसन्धान थालिएकामा करिब १२० कम्पनीमा कैफियत देखिएको थियो ।

यीमध्ये झुट्टा तथा नक्कली बिजकका आधारमा साढे ११ करोड रुपैयाँभन्दा बढी रकम भ्याट छली गर्ने ७ वटा फर्मको विवरणसहित विस्तृत प्रतिवेदन नै सार्वजनिक गरेको थियो । बि.स. २०६९ सालमा ७ अर्ब रुपैयाँ बराबर भ्याट छलीमा परेका करिब ३ सय कम्पनीले नक्कली भ्याट बिलमार्फत राजस्व ठगी गरेको खुलासा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस