
विषय प्रवेश नेपाली समाजमा प्रचलित एक लघु कथाबाट गरौँ। नेपालको कुनै एक दुर्गम पहाडी गाउँमा एउटा परिवारले स्याउलाले बारेको घरलाई फेर्दै ढुङ्गाले बनेको नयाँ घर बनाउने बिचार गरेछ। तर, छोराछोरी सानै रहेको सो परिवारमा ढुङ्गा बोक्न सक्ने जनको भने अभाव थियो। कोही खेताला बोलाऊँ ज्याला तिर्न रकमको अभाव। त्यसैले घर मूली बा ले स-साना बालकहरूलाई नै ढुङ्गाको भारी बोकाउन थालेछन्।
घर बनाउने ढुङ्गा डोकोमा बोकेर उकालो बाटो हिँड्दा सबै छोराछोरीलाई अगाडी लगाएर बा चाहिँ सबैभन्दा पछि हिँड्दा रहेछन्। जुन सन्तानलाई भारी गह्रौँ लाग्छ त्यो बिस्तारै सबैभन्दा पछाडि पर्ने नै भयो। त्यसपछि जब आफ्नो पछि पछि आइरहेको बालाई बच्चाले "गाह्रो भयो बा भन्छन्"। बाले चाहिँ सुटुक्क अर्को सानो ढुङ्गा डोकोमा हालिदिँदा रहेछन्। अनि भन्दा रहेछन्, 'सक्छस् थोरै हिँड न'। झन् थपिएको भारी बोक्न नसकेर थ्याच्च बस्ने अवस्थामा पुगेको सन्तानले देख्ने गरी अघि भर्खरै थपेको सानो ढुङ्गा निकालेर मिल्काउँदै बाले भन्दा रहेछन्, 'यी हेर, ढुङ्गा निकालिदिएँ। अब चुप लगेर हिँड।' भारी घटेको भ्रममा बच्चामा फुर्ती बढ्छ। बच्चाले हल्का महसुस गर्छन्, फिलिली कुद्छन्।
त्यसपछि सन्तानले सोच्छन्- हाम्रा बा दयालु छन्। गाह्रो भो भन्ने बित्तिकै ढुङ्गा हटाइदिए। भारी घटाइदिए। त्यसैले बा महान् हुन्। बा बा मात्र होइनन् भगवान् हुन्। हाम्रो दुख बुझ्छन्। भावनाको कदर गर्छन्। त्यसैले अतुलनीय छन्।
बाहरूको बठ्याइँ
नेपालमा नेताहरूको राजनेता बन्ने सूत्र बाको त्यही चतुर्याई भित्र लुकेको छ। धेरै अघिका कुरा नगरौँ। हाम्रा राष्ट्रिय बा, केपी ओलीले भारतले नाकाबन्दी गर्दा उसले असल छिमेकीको व्यवहार गरेन मात्र के भनेका थिए, उनी महान् राष्ट्रवादी बने। चीनले व्यापार तथा पारवहनको सम्झौता गर्न त्यही बेला सहमति जनायो। उनी दुख हर्ता, सङ्कट मोचक बने। पछि खै के रहर लाग्यो कुन्नि कहिल्यै नेपालीले पाइलो समेत हाल्न नपाउने अवस्थामा रहेको, चीन र भारत दुवैले आफ्नो स्वार्थ अनुरूप यति तिम्रो, यति मेरो भन्दै त्यसलाई प्रयोग गर्ने छुट्टै सम्झौता समेत गरिसकेको भू-भाग लिपुलेक समेटेर नयाँ नक्सा बनाए। बस्, बा नेताबाट राजनेता बने।
उनलाई विस्थापित गर्न आएका अर्का शेर बहादुर देउवाले त झन् केही गर्नै परेन। प्रचण्ड र माधव नेपालले ओलीसँग रिस फेर्नु थियो। अदालतले साथ दियो। उनी लोकतन्त्र बचाउने महान् नेता बने। स्थानीय तह र संघीय तथा प्रदेश संसद्को आवधिक निर्वाचन हुनै थ्यो। त्यो सम्पन्न भयो उनी प्रधानमन्त्री रहेकै बेला। तर, पूर्व राजाले औपचारिक रूपमा नै अक्षम घोषित गरेका उनी एकाएक सक्षम बने। नेताबाट राजनेता कहलिए।
अहिलेका राजनेता प्रचण्डको त कुरा गरी साध्ये छैन। आफ्नो रगत पसिना बेच्न विदेश जानका लागि पैसा तिरेर किन्नुपर्ने एउटा खोस्टो (पासपोर्ट) बनाउन आम नागरिक रातको २/३ बजेदेखि लाइनमा बस्नुपर्छ। यो यिनै 'राजनेता'हरुले दसकौँ सम्म जोगाएको बेथिति र निर्माण नगरेको प्रणालीका कारण सिर्जित समस्या हो। प्रधानमन्त्री बन्ने बित्तिकै प्रचण्डले 'लाइन हटाउन काम गर्ने' मात्र के बोलेका थिए उनी चर्चाको शिखरमा पुगे। समाचार छपाए- सेवाग्राहीलाई लाइनमा राखेर सास्ती दिने पदाधिकारीलाई कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी। त्यसपछि नेताबाट राजनेतामा परिणत भए।
उनकै सन्दर्भमा अर्को रोचक कुरा छ। त्यो हो, उनी प्रधानमन्त्री भए पश्चात नै एउटा नयाँ ढुङ्गो थपियो डोकोमा। जस अनुसार विदेशबाट फर्केर आउने नेपालीले एउटा भन्दा बढी मोबाइल ल्याउनै नपाउने भए। त्यसको सर्वत्र विरोध भयो। प्रथम दृष्टिमा नै खारेज योग्य यस्तो नियमका रूपमा व्यापारीले लेखेर दिएको ड्राफ्ट सरकारले सार्वजनिक गरेको थियो। त्यसैले त्यसको रक्षार्थ उभिन सक्ने तर्क कसैसँग थिएन। 'नो रेमिट्यान्स' अभियान नै चल्ने देखियो। थाम्न सक्ने स्थिति भएन। त्यसपछि यस्तो शीर्षक सहित समाचार छपाइयो- प्रधानमन्त्रीको निर्देशन : विदेशबाट फर्किँदा अतिरिक्त मोबाइल ल्याउन दिनू। उनी महान् बने। चौतर्फी विरोध भएपछि "अहिलेलाई निर्णय कार्यान्वयन नगर्ने (कमसेकम विश्वासको मत नलिएसम्म)" भनेर जाडोमा 'सुसु न्यानो' भनाई राखेका छन्। अनि फेरि नेता, राजनेता कहलिए।
नेताले अलिक सहज रूपमा त्यो खोस्टो बनाउने बाटो निकाले मात्रै भने पनि नेता, नेता रहन्न, दीर्घकालसम्म राजनेता भइरहन्छ। गैर कानुनी संरचनामा बनेका घर, बसाइएका बस्ती, हटाउन खोज्दा हामीले नै अर्को व्यवस्था नगरी त्यसरी अनायास कारबाही नगरे हुन्थ्यो भन्यौँ। विरोध गर्यौँ। अब केही सीप नलागेपछि नेताले "उनीहरूलाई अर्को व्यवस्था नगरेसम्म हटाइने छैन" मात्रै भन्दिए भने त्यो नेता पनि राजनेता भाईजान्छ। भाडमा जाओस्, अर्को व्यवस्था।
नेताले खुल्ला मञ्चमा भूमिगत पार्किङ बनाउने भन्छ। चौतर्फी विरोध भएपछि "खुल्ला मञ्चलाई खुल्लै राख्ने, नचलाउने" भने मात्रै पनि नेता राजनेतामा परिणत हुन्छ । भाडमा जाओस्, पार्किङ समस्या।
नेता हुन मात्रै गाह्रो हो, राजनेता हुन चाहिँ सजिलो छ। पहिला गल्ती गर्यो अनि हल्का सुधार गर्यो। बस् राजनेता भइयो।
दोस्रो पुस्ताका दाइहरू बारे
दोस्रो पुस्ताका पनि केही दाइहरू यसबिच नेताबाट 'राजनेता' बने। नेपाली काँग्रेसका गगन थापा, एमालेका गोकर्ण विष्ट र माओवादीका जनार्दन शर्मा एक कालखण्डमा राजनेता कहलिएका मध्ये हुन्। उनीहरूले त्यस्तो उधुम के गरे धेरै व्याख्या नगरौँ।
गगन थापा स्वास्थ्य मन्त्री बने। मिडियामा राम्रै पहुँच थियो नै, गुणगान छाप्न लगाए। उनले बाख्रा पालन गर्न भन्दै लिएको कृषि अनुदानको हिसाब सबैले भुले। सबैलाई स्थलगत रिपोर्टिङ गर्न लगाइएको मासु पसल कहिले बन्द भयो कसैले थाहा पाएनन्।स्वास्थ्य मन्त्रालयमा बसेर राम्रै कारोबार गरे। केही स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न प्रचण्डसँग भागबन्डा मिलाए। अन्ततः : उनी राजनेता बने।
उता, मन्त्रीको ओहदामा बसेकै बेला फिल्डमा गएर गोकर्ण विष्टले बिधुत प्राधिकरणका सामान्य तहका कर्मचारीले गर्नुपर्ने समयमा नै आफूले प्रयोग गरेको बिद्युतको महसुल नबुझाउनेहरूको लाइन काट्ने काम गरे। उनी एकाएक नेताबाट राजनेता बने। जनार्दन शर्माले 'म लोडसेडिङ हटाउने गरी व्यवस्थापन गर्छु है मन्त्री ज्यू' भन्ने कुलमानको प्रस्तावमा समर्थन जनाए। त्यसपछि उनी पनि राजनेतामा परिणत भए।
बिचरा बबुरो बालक
अब लेख्न बाँकी धेरै छैन। तीन करोड बालकहरू मख्ख छौँ। बाहरूलाई महान् बनाउँदै छौँ। उनीहरूलाई नेताबाट राजनेतामा पदोन्नति गर्नमा हामी माहिर छौँ। उनीहरू सुटुक्क ढुङ्गो थप्छन्। फेरी देख्ने गरी फाल्छन्। हामी देवत्वकरण गर्छौँ।
डोरबहादुर विष्टले व्याख्या गरे झैँ हामी भाग्यवादी उनीहरूको भाग्य फलमाथि कहिले पनि संशय गर्दैनौँ। हामीलाई बोकाएको ढुङ्गाले बनेको घरको मालिक बा लाई नै मान्छौँ। पारदर्शिताको प्रश्न गर्न हिच्किचाऊँछौं। समाज सामन्ती युगबाट नयाँ युगमा प्रवेश गर्यो भन्दै बा हरुले फलाक्दा पत्याउँछौँ।
त्यसैले त रवि लामिछानेले सलामी थापेको घटनालाई स्वाभाविक देख्छौँ। 'त्यहाँ पिर्का त थिएन नि' भन्छौँ। हामी पिर्का हटेकोमा सामन्तवाद सकिएको देख्छौँ। तर, सलामीको अर्थ खोज्दैनौँ।
हामीले के बुझ्नु जरुरी छ भने सामन्ती समाज जब पुँजीवादी युगतर्फ अग्रसर हुन्छ तब मानिसलाई ज्याला गर्ने वा नगर्ने भन्ने रूपमा मात्र स्वतन्त्रता हुन्छ। वित्तीय एकाधिकारवादी नवउदारवादले लादेको उपभोक्ता संस्कृतिले उसलाई मालिकका सबै सर्त स्विकारेर करार गर्न बाध्य पार्छ। परिणामस्वरूप सामाजिक संस्था र मूल्य मान्यतामा "मालीक्यांइ" यथावत् रहन्छ।
त्यसैले त लामिछानेलाई उपप्रधानमन्त्री चाहियो। त्यहाँ मालिक्यांइको लुप्त मोह देखियो। सलामीमा त्यो झन् प्रष्ट्र भयो। हामी त्यसलाई अस्वाभाविक देख्दैनौँ। हामीलाई नेतालाई राजनेतामा परिणत गर्ने मात्र हतारो छ। त्यसैले प्रधानमन्त्री भइसकेका ली क्वान यु पछि मन्त्री भएको स्मरण गर्दैनौँ।
प्रतिक्रिया दिनुहोस