काठमाडौँ । चालू खाता घाटा, बढ्दो मूल्यवृद्धि, राजस्व सङ्कलनमा कमी, तरलता अभाव लगायत समस्याका बिचमा विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्रीको कुर्सीमा पुगेका छन् । यसअघि भन्दा यो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नु पौडेलका लागि चुनौती भएको विश्लेषकहरूको ठम्याई छ ।
अहिले नेपालको अर्थतन्त्रका सूचकाङ्क सकारात्मक छैनन् । देशको अर्थतन्त्र संकटोन्मुख अवस्था छ । कर्मचारीहरूले समस्या भए पनि सम्हाल्नै नसक्ने अवस्था भने नरहेको भन्ने रिपोर्टिङ गरेका आधारमा पौडेल त्यही शब्द दोहोर्याई रहेका छन्। हामीले पौडेलको पहिलो र दोस्रो कार्यकालभन्दा अहिलेको अवस्था के कसरी पृथक् छ भन्ने विषयमा केही अर्थविदहरुसँग कुरा गरेका छौँ ।
चन्द्रमणि अधिकारी, अर्थविद् तथा योजना आयोगका पुर्व सदस्य
अर्थमन्त्री विष्णु पौडेललाई पहिलो र दोस्रो पटक अर्थमन्त्री हुँदा भन्दा तेस्रो पटक बढी चुनौती रहेको छ । नेपालको अर्थतन्त्रका सूचकाङ्क अहिले कुनै उकालो लाग्या छैनन् । सबैभन्दा ठुलो चुनौती त ऋण बढेर गएको छ। राजस्व सङ्कलन घटेको छ। राजस्वले चालू खर्च धान्न नै नसक्ने अवस्था छ । अर्कोतिर लगानीयोग्य पुँजी नभएका कारण ब्याजदर उच्च छ । ब्याजदर उच्च भएका कारण महँगी बढेको छ। नागरिकको जीवनस्तर खस्किँदो छ ।
व्यवसायहरू बन्द हुँदै गएका छन् । आर्थिक मन्दीबाट देशलाई बाहिर निकाल्नु पर्ने सबैभन्दा ठुलो चुनौती अर्थमन्त्री विष्णु पौडेललाई छ । अनावश्यक खर्च कम गर्ने, वित्तीय अनुशासन पालना गर्ने, सुशासन कायम गर्ने र वैदेशिक मुद्रा आर्जनलाई बढाउनु पर्ने काम तत्कालै अर्थमन्त्रीले गर्नु पर्ने देखिन्छ । यससँगै राजस्व बढाउनेदेखि उत्पादशिल क्षेत्रमा लगानी लैजाने गरि काम गर्नु पर्ने हुन्छ । सबैसँग हातेमालो गर्दै अर्थमन्त्री अगाडी बढे भने अहिलेका अफठ्यारोबाट जनतालाई, नागरिकलाई, देशलाई र अर्थतन्त्रलाई उकास्न सक्ने सम्भावना प्रशस्त रहेका छन् ।
अर्थविद्, रामेश्वर खनाल
तेस्रो पटक अर्थमन्त्री बनेका विष्णु पौडेललाई अगाडीको दुई कार्यकाल भन्दा यो पटकको कार्यकाल चुनौतीपूर्ण छ । नेपालको इतिहासमा नै अर्थतन्त्रलाई ध्वस्त बनाएर कोही पनि अर्थमन्त्री बाहिरिएका थिएनन् । जनार्दन शर्माले त्यसो गरेर गएका छन् ।
गएको आर्थिक वर्षको तुलनामा २० प्रतिशतले राजस्व घटेको छ । खर्च घट्ने सम्भावना छैन । कर्मचारीको तलब समेत बढाएर गएका छन् । यस्तो कुनै अर्थमन्त्रीको पालामा भएको थिएन । वैदेशिक लगानीमा कमी आएको छ। पूर्वाधारमा लगानी कमी छ, नयाँ उद्योग दर्तामा समेत कमी आएको छ, विकास खर्च समेत हुन सकिरहेको छ ।
यी लगायत धेरै समस्याहरू रहेका छन् । अहिलेका अर्थमन्त्रीलाई राजस्व बढाउनु पर्ने सबैभन्दा ठुलो चुनौती रहेको छ । अर्थतन्त्र सुधार गर्नुपर्ने समेत चुनौती अहिलेको अर्थमन्त्रीलाई छ। अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन सक्छन् या सक्दैनन् भन्ने धेरैको चासोको विषय समेत रहेको छ । व्यवसायीले अनाहकमा माग राखेर समस्या थपिदिएका छन् ।
यी सबैलाई सुधार गर्नु पर्ने चुनौती नयाँ अर्थमन्त्रीलाई रहेको छ । सही कदम चाले भने अर्थतन्त्र सुध्रिन सक्छ । तर, अर्थतन्त्र धेरै बिग्रेको छैन । सुधार गर्न सकिन्छ । भाषणले सुधार्ने भन्ने अनि कार्यान्वयन गर्न नसक्ने हो भने जनार्दन कदम मै जानु बाहेक अरू नहुन सक्छ ।
केशव आचार्य, अर्थविद्
नेपालको अर्थतन्त्र सङ्कटको अवस्थामा नै त पुगिसकेको छैन । तर, केही असहज अवस्थामा भने पक्कै छ । अर्थमन्त्री विष्णु पौडेलले पनि केही दिन अघि अर्थतन्त्र काबु बाहिर नरहेको बताएका थिए । अर्थमन्त्रीको कुर्सीमा पौडेल तेस्रो पटक पुगेका हुन । यसअघिको दुई पटक भन्दा यो पटक उनका लागि धेरै चुनौती रहेको छ । पहिलो चुनौती आयात प्रतिबन्ध खोल्नु नै रहेको छ ।
सरकारले पुस १ गतेदेखि प्रतिबन्ध लगाएका वस्तुहरूको आयात खोलेको छ । आयातमा रोक लगाइएका वस्तहरु अब आयात हुन्छन् । यसले भुक्तानी सन्तुलनमा फेरि असर गर्छ । शोधानान्तर बचत पनि धेरै छैन । यसले गर्दा पनि बाह्य क्षेत्र एकदम हेर्नु पर्ने अवस्थामा छ । सरकारले राजस्व घट्यो भनेर आयात प्रतिबन्ध खुलाउँदा बाह्य क्षेत्रमा ठुलो चुनौती थपिन्छ ।
अहिले राजस्वले चालू खर्च समेत धान्न सकेको छैन । पुँजीगत खर्च पुर्याउनु त झन् परको कुरा भयो । यो पनि अर्थमन्त्रीका लागि ठुलो चुनौती हो । त्यस्तै, अर्को चुनौती हाम्रो वित्तीय क्षेत्रमा रहेको छ । तरलता अभावदेखि ब्याजदर वृद्धिसम्मका समस्या यस क्षेत्रमा रहेका छन् । अर्कोतिर व्यवसायीहरू ब्याजदर घटाउनु पर्छ भनेर आन्दोलनमा उत्रिएका छन् । अर्थमन्त्रीले कसैको दबाबमा परेर हस्तक्षेपको आधारमा ब्याजदर घटाउन लाग्नु हुँदैन ।
मुद्रास्फीति बढ्दो क्रममा रहेको छ । छिमेकी मुलुक भारतको भन्दा नेपालको मुद्रास्फीति दर माथि गएको छ । यसो हुनु भनेको खराब हो । मुद्रास्फीति नियन्त्रणमा राख्नु पर्ने चुनौती अर्थमन्त्री पौडेललाई छ ।
यहाँ वैदेशिक लगानीको मात्रै चर्चा गरिँदै आएको छ । खासमा आन्तरिक लगानी नै हुन सक्या छैन । आन्तरिक लगानी सबै आयात व्यापारका लागि भएको छ । यससँगै घरजग्गा, शेयर बजारमा लगानी धेरै भयो । उत्पादनमूलक ठाउँमा आन्तरिक लगानी हुनै सकेन । आन्तरिक लगानी उत्पादन मुलुक क्षेत्रमा जान नसक्नु भनेको अर्थतन्त्रको लागि ठुलो चुनौती हो ।
लामो समयदेखि पुँजीगत खर्च हुन सकिरहेको छैन । पुँजीगत खर्च बढ्नु पर्नेमा घट्दै गइरहेको छ । जबसम्म हामीले राम्रोसँग पुँजीगत खर्च गर्न सक्दैनौँ तबसम्म राम्रोसँग देश अगाडी बढ्न सक्दैन । हामीले आयात प्रतिस्थापनदेखि रोजगारी सिर्जनासम्म गर्न सक्दैनौँ । यी यावत् अवस्थाहरू अर्थतन्त्रका लागि मुख्य चुनौती नै रहेको छ ।
आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको कुरा सुनेर ब्याजदर घटाउन तिर अर्थमन्त्री लागे भने अर्थतन्त्र जोखिममा पुग्न सक्छ। यो बेला उद्योगी/व्यवसायीलाई अर्थतन्त्र सङ्कटमा रहेका बेला ब्याजदर घटाउन नसक्ने अवस्था छ भनेर स्पष्ट रुपमा भन्नु पर्छ। कर्जा पाउन्जेल खाली आयात गर्ने, जग्गामा लगानी गर्ने, शेयर बजारमा लगानी गर्ने काम भएको थियो। त्यो गल्ती तपाईँहरूबाट भयो भन्नुपर्छ।
अर्थतन्त्र सङ्कटमा पर्नुमा सरकार, राष्ट्र बैङ्क मात्र दोषी छैनन् । निजी क्षेत्र पनि दोषी रहेको छ । तरलता राम्रो भएपछि ब्याजदर आफै घट्न थाल्छ । पौडेलसँग यसअघिका दुई कार्यकालको अनुभव छ । यसअघिको एक कार्यकालमा जथाभाबी बजेटको आकार बढाएका थिए । अब त्यस्तो काम पौडेलले दोहोर्याउनु हुँदैन । बजेटको अकार बढाएर मात्रै हुँदैन । राजस्व उठ्दैन, खर्च गर्न सक्दैन । कार्यान्वयन गर्न सक्नेखालको बजेट अब बनाउनु पर्छ । राजस्व चुहावटहरू नियन्त्रण गर्न सक्नु पर्यो ।
पौडेलले अर्थमन्त्रीमा रहेर कतिको काम गर्न सकेको छन् भनेर पुसको अन्तिममा हेर्नु पर्ने हुन्छ । माघ महिनादेखि कसरी अर्थतन्त्रलाई सुधारमा ल्याउँछन् त्यसले धेरै कुरा बताउँछ । काम गर्न सक्छन् की सक्दैनन् भनेर हामीले हेर्ने भनेको राजस्व कसरी उठाउँछन् । शोधानान्तर स्थिति कस्तो हुनेछ? मुद्रास्फीति के हुन्छ? तरलताको अवस्था कस्तो हुन्छ हेरेपछि अर्थमन्त्री गरेको काम र भोलिका दिनमा गर्न सक्ने या नसक्ने भन्नेबारे त्यहीँबाट थाहा हुन्छ ।
नयाँ सरकारले पनि अर्थतन्त्र सुधारलाई पहिलो प्राथमिकता दिने भनेको छ । यो नौलो कुरा होइन । जुन दल सरकार आए पनि सुरुवातमा अर्थतन्त्रलाई नै प्राथमिकता दिन्छौँ नै भनिरहेको हुन्छ । तर, त्यसका लागि इच्छाशक्ति देखिँदैन । बोलीमा मात्रै होइन व्यवहारमा समेत काम गरेर देखाउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस