aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

महिला हिंसाको डरलाग्दो अवस्था, पत्रकारहरु पनि असुरक्षित

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, २१ पुस २०७९
महिला हिंसाको डरलाग्दो अवस्था, पत्रकारहरु पनि असुरक्षित

काठमाडौं । नेपालमा सबै भन्दा बढी लैगिंक हिंसाका घटना घरेलु हिंसा अन्तर्गत भएको पाइएको छ । राष्ट्रिय महिला आयोगको तथ्यांकले लैगिक हिंसाको सबै भन्दा बढी घटना घरेलु हिंसा अन्तर्गत भएको देखाएको छ ।

आयोगको २०७८ साउनदेखि २०७९ असारसम्मको उजुरीको विवरण अनुसार ९० प्रतिशत उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । सो अवधिमा १४ सय ६४ लैंगिक हिंसा सम्वन्धि उजुरी दर्ता हुँदा १३ सय १८ वटा उजुरी घरेलु हिंसासँग सम्वन्धित छन् । यस्तै १ सय ४६ उजुरी महिला हिंसासँग सम्वन्धित छन् । यो प्रतिवेदन गत असोजमा प्रकाशित भएको हो ।

प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा लैंगिक हिंसाका घटना बढी देखिएको छ भने सबै भन्दा कम सुदुरपश्चिम प्रदेशमा छ । बागमती प्रदेशमा ११ सय ७३ उजुरी घरेलु हिंसासँग जोडिएका छन् । यस्तै १ सय ३ महिला हिंसाका उजुरी दर्ता भएको तथ्यांक छ । दुबै गरी बागमती प्रदेशमा १२ सय ७६ लैंगिक हिंसाका उजुरी दर्ता भएको महिला आयोगको प्रतिवेदनमा उल्लेख छ ।

मधेश प्रदेशमा लैंगिक हिंसाका ६४ उजुरी दर्ता हुँदा ४५ उजुरी घरेलु हिंसासँग सम्वन्धित तथा १९ उजुरी महिला हिंसासँग सम्वन्धित रहेको देखिन्छ । त्यसपछि प्रदेश १ मा ३६ उजुरी दर्ता हुँदा ३४ घटा घरेलु हिंसासँग सम्वन्धित तथा दुई वटा उजुरी महिला हिंसासँग सम्वन्धित छन् ।
प्रदेश १ पछि गण्डकी प्रदेशमा ३५ उजुरी दर्ता भएका छन् । त्यसमध्ये ३१ घरेलु हिंसा र ४ घटना महिला हिंसासँग सम्वन्धित छन् । यसैगरी लुम्बिनी प्रदेशमा २३ वटा उजुरी दर्ता हुँदा २४ वटा घटना घरेलु हिंसासँग सम्वन्धित तथा ९ महिला हिंसासँग सम्वन्धित रहेको पाइन्छ । कर्णालीमा १० उजुरीमध्ये ९ घरेलु हिंसा र १ महिला हिंसासँग सम्वन्धित छन् । यस्तै प्रदेश उल्लेख नभएका ११ वटा उजुरीमध्ये ७ वटा घरेलु हिंसाका तथा दुई वटा उजुरी महिला हिंसासँग सम्वन्धित रहेको महिला आयोगको प्रतिवेदमा उल्लेख छ ।

प्रतिवेदन अनुसार सबै भन्दा बढी ५८ प्रतिशत घटना २६ देखि ४० वर्ष उमेर समूहका बिचमा भएको देखिन्छ । त्यसपछि १६ देखि २५ वर्षका बिचमा २१ प्रतिशत घटना भएको देखिन्छ भने ४१ देखि ६० वर्ष समूहका बिचमा १७ प्रतिशत घटना भएको तथ्यांक छ । ६० वर्षमाथि २ प्रतिशत तथा १६ वर्ष मुनी १ प्रतिशत घटना भएको तथ्यांक छ । यो उमेर समूहमध्ये सबै भन्दा बढी पीडीत विवाह भएका महिलाहरु छन् । महिला आयोगमा दर्ता भएका उजुरी मध्ये ८७ प्रतिशत उजुरी विवाहित महिलासँग सम्वन्ति रहेको प्रतिवेदनले देखाएको हो ।

प्रतिक्रिया दिनुहोस