काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव फेरिएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया, राजस्व सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिएको हो ।
अर्थतन्त्रलाई लयमा ल्याउनका लागि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको उच्च तहको नेतृत्व परिवर्तन गर्न खोजेका थिए । चलायमान बन्न खोजेको अर्थतन्त्रलाई जीवन्त राख्न र तीन वर्षदेखि संकटमा रहेको अर्थतन्त्रलाई माथि उठाउनका लागि पनि अर्थ मन्त्रालयमा सक्षम नेतृत्व आवश्यक रहेको तर्क सरोकारवालाहरूले समेत गरिरहेका थिए । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवका रूपमा ल्याउने चर्चा चलेको थियो ।
अर्थ मन्त्रालयका अर्थ सचिव कृष्णहरि पुकार र राजस्व सचिव रामेश्वर दंगालले अर्थ मन्त्रालयलाई चलायमान गर्न नसकेको आरोप त्यहीँका कर्मचारीले लगाउँदै आएका छन् । त्यसो त उनीहरू आफ्नो काममा असफल नै साबित समेत भइसकेका छन् । चालू आवको बजेटले १२ खर्ब ४० अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान थियो । तर, लक्ष्य अनुसारको राजस्व संकलन हुन सकिरहेको छैन । चालू आवको ५ महिना बित्न लाग्दासम्म आन्तरिक तर्फ ८६.३७ प्रतिशत र भन्सारतर्फ ६१.२ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस