aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ पुस २०७९
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई लगभग ‘निर्देशन मन्त्रालय’ बनाइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरी अर्को ठाडो निर्देशन दिएका छन् । निर्देशनकै भरमा आफूलाई लोकप्रिय बनाउन लागि परेका प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका हुन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीले बिहिबार आफ्नो कार्यालयमा बोलाएर वाणिज्य तथा आपूर्ति सचिवलाई यस्तो निर्देशन दिएका हुन् । 

दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ  । आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था भएकाले यस्तो निर्देशन दिएको हो । 

निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा रु ९९ करोड नाफा हुने देखिएको छ । निगमले रु १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फी रुपमा मूल्य घटाउन निगमलाई दबाब परेपनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो । 

यसअघि प्रधानमन्त्रीले विदेशबाट आउनेहरुलाई एउटा मात्रै मोबाइल ल्याउन दिने गरी भएको निर्णय लागु नगर्न भन्सारलाई निर्देशन दिएका थिए । त्यसैगरी, प्रधानमन्त्री हुने बित्तिकै लाइसेन्स र पासपोर्ट लिनेहरुको लाइन तत्काल अन्त्य गर्न उनले दिएको निर्देशनको परिणाम स्वरुप राहदानी विभागले पासपोर्ट वितरण नै बन्द गरेको छ । 

प्रतिक्रिया दिनुहोस