
काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा भक्तजनहरूको सुरक्षाको लागि पशुपतिमा क्षेत्र परिसरमा महिला प्रहरी खटाउने भएको छ ।
तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले यस वर्ष ३ बजे देखि नै ४ वटा ढोका खुल्ला गर्ने भएको छ । ३ वटा ढोकामा जाली राखेर खोल्ने र एउटा ढोका खुल्ला राख्ने पशुपति विकास कोषका सुचना अधिकारी प्रेमहरी ढुङगानाले बताए ।
यस वर्ष पशुपतिमा बिचमा नृत्य पुजा नगर्ने भएकाेछ । भक्तजनहरूले दर्शन गरिरहेका बेला बिचमा नृत्य पुजा राख्दा भक्तजनहरूलाई गाह्रो हुने गरेकोले यस वर्ष बिहानै नृत्य पुजा गरेर भक्तजनहरूलाई मात्र दर्शन गर्न दिने व्यवस्था गरिएको छ । भक्तजनहरू जुन लाइनबाट पुजा गर्न गएको हो त्यही लाइनबाट फर्केने व्यवस्था गरेको पशुपति बिकाष कोषले जनाएको छ ।
तीज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो । भदौ १६ गते सोमबार भाद्र शुक्ल तृतीयाका दिन पशुपति मन्दिर प्रवेश गर्न मुख्यरूपमा तीन स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।
पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको ढुङगानाले जानकारी दिए ।
यसैबीच, नेपाल प्रहरीसँगको समन्वयमा पशुपति क्षेत्रमा तीज पर्वलाई ध्यान दिँदै सादा पोशाकका प्रहरी खटाइसकिएको छ । मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिनेछन् जसमा अधिकाम्स महिला र महिला प्रहरीले अपुग भए पुरूष प्रहरी राख्ने ढुङगानाले बताए ।
शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आह्वान गरेको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, परिसरमा व्यवस्था गरिएको छ ।
जुत्ता चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरीलगायत स्थान छुट्याइएको छ । नाचगान एवं भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी, मित्रपार्क तोकिएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा पशुपति क्षेत्रमा पर्ने चक्रपथ सडक बन्द नगर्ने गरी व्यवस्थापन गर्न लागिएको पनि कोषले जनाएको छ । कोषले भदौ १६ गते बिहान ६ बजेअघि नै पशुपतिका नित्य दर्शनार्थीलाई दर्शन गरिसक्न पनि आह्वान गरेको छ । ६ बजेपछि महिला भक्तजनको भीड बढी हुने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आह्वान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस