
काठमाडौं । कोरोना भाइरसको नयाँ स्वरूपले संक्रमण जोखिम बढाएको छ । वृद्धवृद्धा, दीर्घ रोगी र विदेश जानेहरू बुस्टर मात्रा (डोज) लगाउन आतुर छन् । तर, न सरकारले समयमै पर्याप्त खोप उपलब्ध गराउन सकेको छ न त निजी क्षेत्रले आयातमा रुचि देखाएको छ । सरकारी खोप भण्डारमा भेरोसेलबाहेक अन्य खोप नहुँदा बुस्टर डोजबाट जनता वञ्चित भएका छन् ।
गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने स्वास्थ्य प्रोटोकल पालना गर्न अनुरोध गर्नमै सीमित छन् । दुवै मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन् ।
खोप भण्डारमा चिनियाँ खोप भेरोसेल र सिनोभ्याक मात्र छन्। बुस्टरका रूपमा सिनोभ्याक दिन नमिल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो पहिलो र दोस्रो मात्रा मात्र दिन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरको भनाइ छ ।
‘बुस्टरका लागि रहलपहल (बचेको) सबै खोप काठमाडौं उपत्यकाबाहिरका जिल्लामा पठाइएको छ’, प्रवक्ता डा. ठाकुर भन्छन्, ‘बुस्टर खोप लगाउन कम्तीमा दुई साता पर्खनुपर्छ ।’ उनका अनुसार बुस्टरका लागि १६ लाख मात्रा फाइजर खोप ल्याउने तयारी छ ।
फाइजर, कोभिसिल्ड, जोनसोन खोप अभाव छ । यी खोप लगाएकाहरूले बुस्टर डोज लगाउन पाएका छैनन् । विदेश जान लागेकाहरू पनि बुस्टरबाट वञ्चित छन् । भेरोसेलको पूर्णमात्रा लगाएकाहरूले मात्र बुस्टर लगाइरहेका छन् । अन्य खोप लगाएका व्यक्तिलाई बुस्टरका रूपमा भेरोसेल लगाउन नमिल्ने बताउँदै अस्पतालका खोप केन्द्रबाट फर्काइएको छ ।
डा। ठाकुरका अनुसार बुस्टर लगाउन चाहनेहरू बढिरहेका छन् । ‘पहिला खोपको माग नै थिएन’, डा. ठाकुर भन्छन्, ‘अहिले बल्ल बुस्टर डोजको माग बढेको छ । तर, आपूर्ति हुन सकेको छैन । निजी क्षेत्रले किन ल्याउन चाहेको छैन ? केही थाहा छैन ।’
निजी क्षेत्रले किन देखाएन रुचि ?
नेपाल सरकार र खोप उत्पादन गर्ने मुलुकको सरकार (जीटुजी), नेपाल सरकार र खोप उत्पादन गर्ने कम्पनी (जीटुके) मार्फत खोप ल्याइएको छ । खोप ल्याउन दुई वर्ष उच्च तहमा भेटवार्ता गरेका व्यवसायीले अहिले चासो देखाएका छैनन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष एवं औषधि उत्पादक उमेशलाल श्रेष्ठ सरकारले सहयोग नगरेको बताउँछन् । ‘पहिले खोप ल्याउने प्रयास गरिएको थियो । सरकारले सहयोग गरेन’, नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘पहिलेजस्तो चासो अहिले छैन ।’ संघकै अर्का पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल कोभिडविरुद्धको खोप आयातमा चासो नदिइएको बताउँछन्। ‘निजी क्षेत्रले स्वदेशमै खोप उत्पादन गर्न चाहेको हो’, पूर्वअध्यक्ष दाहाल भन्छन्, ‘सरकारले निःशुल्क दिएको खोपसमेत सबै उपयोग हुन सकेन । खेरसमेत गयो । त्यसैले निजी क्षेत्रले पनि खोप आयातमा रुचि देखाएन ।’
प्रतिक्रिया दिनुहोस