
काठमाडौं । उपरथी प्रेम शाहीमाथि छानबिनका क्रममा उपरथी बाबुराम श्रेष्ठ नेतृत्वको ‘कोर्ट अफ इन्क्वायरी’ले बिहीबार घरमा पुगेर खानतलासी गरेको छ । उरपथी श्रेष्ठको नेतृत्वमा गएको टोलीले काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित शाहीको घरमा पुगेर खानतलासी गरेको स्रोतले बतायो । ‘उहाँहरू पुरै प्रक्रिया पुर्याएर आउनुभएको रहेछ । उहाँहरूसँग वरिष्ठ सईको नेतृत्वमा नेपाल प्रहरी र जनप्रतिनिधि पनि आउनुभएको थियो,’ शाहीनिकट स्रोतले भन्यो ।
खानतलासीमा बुढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ पनि साक्षीका रूपमा थिए । ‘मलाई प्रहरीले बोलाएपछि त्यहाँ पुगेको हुँ । पुगेपछि हाम्रै रोहबरमा खानतलासी लिइएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘परिवारका सदस्यहरू पनि हुनुहुन्छ । उहाँकी श्रीमती, दुई छोरी र एक छोरा पनि सँगै हुनुहुन्छ ।’ वडाध्यक्ष श्रेष्ठले रातिसम्म टोलीले मुचुल्का गरिरहेको जानकारी दिए। खानतलासीमा त्यस्तो शंकास्पद कुरा केही नदेखिएको वडाध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘कागजात छन् । त्यसमा खासै केही त्यस्तो कुरा भेटिएको देखिन्न ।’
जंगी अड्डाले भने शाहीको घर खानतलासीबारे प्रस्ट जानकारी दिन मानेन । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाहीको घरमा खानतलासी गरेकोबारे आफूलाई प्रस्ट जानकारी नभएको बताए । ‘उहाँलाई हिरासतमा राखेर छानबिन भइरहेको जरुर हो । तर घरमा खानतलासीबारे भने मलाई पूर्ण जानकारी छैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस