
नेपालका उद्योगी व्यापारीहरूले सधैँ गर्ने गरेको एउटा गुनासो छ- नेपालमा व्यवसाय गर्ने वातावरण नै भएन। नेपालमा लगानी गर्न इच्छा देखाएर लगानी स्वीकृति माग ठुलो मात्रामा हुने गरेको छ। तर, स्वीकृत लगानीको ३० प्रतिशत पनि भित्री रहेको छैन, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का रूपमा। उता नेपालमा लगानी गर्ने वातावरण कस्तो छ भन्नेबारे विश्व बैङ्कले बर्सेनि प्रकाशित गर्ने डुइंग बिजनेस इन्डेक्समा पनि नेपालले सुधार गर्दै आएको देखाइएको छ। फेरि पनि यहाँ जुन मात्रामा लगानी आकर्षित हुनुपर्ने हो त्यो भएको छैन।
यस्तो किन भइरहेको छ ? यदि कारण खोज्ने हो भने धेरै भेटिन्छन्। तर, यो आलेखमा हाम्रो आम सोच, चिन्तन र त्यसले विकास गरेको सामाजिक संरचनाले निर्माण गरेको आम मनोभाव त्यसका लागी कति जिम्मेवार छ भन्ने विषयमा मात्र विमर्श गर्ने प्रयास गरिएको छ। नेपालमा अत्यावश्यक रहेको नीतिगत सुधारको प्रसङ्ग त स्वाभाविक रूपमा नै छलफलको क्रममा आइहाल्छ। सर्वप्रथम एउटा वैश्विक तथ्यलाई हेरौँ :
ट्रम्प-सी द्वन्द्व र मोदीको चतुर्याई
अमेरिकी कम्पनी एप्पलले उत्पादन गरेका आइफोन/ म्याकबुक/ आइप्याड/ आईवाच आदि चलाउने प्रयोगकर्ताले ख्याल गर्नु भएको होला यसमा डिजाइन्ड बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना (Designed by Apple in California Assembled in China) लेखेको हुन्छ। यी समानहरू एप्पल कम्पनीले आफ्नो फ्याक्ट्रीमा बनाउने हैन। यसलाई ताइवानको फक्सकोन (Foxconn) कम्पनीले निर्माण गरिदिन्छ, एप्पलको लागि। त्यो काम उसले ठेक्कामा गर्छ।
फक्सकोनले चीनमा आफ्नो उत्पादन फ्याक्ट्री चलाएको छ। सो फ्याक्ट्रीमा हालसालै कोभिडको अर्को भेरियन्ट फैलिएर धेरै कामदारले कम्पनी छोडे। मिडिया रिपोर्टहरू अनुसार भागाभाग नै भएछ त्यो कम्पनीभित्र। त्यस लगत्तै एप्पलका पार्ट्सहरुको उत्पादनमा दैनिक उल्लेख्य मात्रामा ह्रास आयो।
यस्तो अवस्थामा आएको थाहा पाएपछि अमेरिकाबाट एप्पलले ताइवानको फक्सकोनलाई सम्पर्क गरेर समयमा नै आवश्यक मात्रामा उत्पादन सक्न र त्यसको डेलिभरी दिन चेतावनी दियो । अनि ताइवानको फक्सकोनले चीन सरकारलाई त्यस्तै चेतावनी दियो। त्यहाँका कामदारले यति ठुलो सङ्ख्यामा काम छाडेर भागे कि अघिल्लो सालको अन्तमा चीनको फक्सकोन कम्पनीलाई एक लाख जना कामदार चाहियो। अन्ततः चीन सरकारले आफ्ना रिटायर्ड सेनालाई गुहर्यो, तत्काललाई एप्पलका समान बनाउने कामका लागि। किनभने चीन फक्सकोन र एप्पलसँगको व्यावसायिक सम्बन्ध गुमाउन चाहँदैन।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदै गर्दा उनले संसार कै सर्वाधिक मोबाइल उपकरण निर्माता चिनियाँ कम्पनी हुवावेको मालिककी छोरी क्याथी मेङ्ग (Cathy Meng) लाई क्यानडामा पक्राए। उनलाई प्रिन्सेस अफ हुवावे (Princess of Huawei) पनि भनेर चिनिन्छ। उता चीनले पनि हङकङमा सुपुर्दकी कानुन (extradition law) लागू गरिदियो। यद्यपि यसका अन्य राजनीतिक कारण पनि छन्। यस कानुन अनुसार हङ्गकङ्गमा भएका कुनै पनि विदेशीलाई चीनले पक्राउ गरेर चीनमा लैजान सक्ने भयो। यसको विरुद्ध हंगकंगमा अनेक आन्दोलन भए। त्यहाँ रहेका धेरै विदेशी कम्पनीले आफ्नो झिटीगुन्टा कस्न थाले। एप्पल कम्पनी पनि हच्कियो।
परिणामस्वरूप अवस्था बिलकुलै बदलियो। तलको फोटो हेर्नुहोस्, तस्बिरमा देखाइएको आइफोन एक्सआर (XR) मा लेखेको देख्नुहुन्छ: डिजाइन्ड बाई एप्पल इन क्यालिफोर्निया, एसेम्बल्ड इन इन्डिया (Designed by Apple in California, Assembled in India).
हो, यो आइफोन एक्सआर भारतको चेन्नईमा बनेको हो। बनाउने कम्पनी चाहिँ उही हो, फक्सकोन. चीनसँग हच्किएको एप्पल कम्पनीलाई आफूकहाँ तान्न सफल भए भारतीय प्रधानमन्त्री, नरेन्द्र मोदी।
मोदीले एप्पल, टेस्ला लगायतका ठुलादेखि सानासम्म विदेशी कम्पनीको फ्याक्ट्री भारतमा स्थापना गर्ने एउटा अभियान नै चलाए, 'मेड इन इन्डिया'। यस अन्तर्गत उनले करमा छुट दिए। व्यवसायीलाई जग्गा, कानुनी सहजता लगायतका धेरै योजना अगाडि सारेर विदेशी कम्पनीलाई भारतमा लगानी गर्ने वातावरण बनाउँदै छन्। उनी यो विश्वासका साथ काम गरिरहेका छन् कि विदेशी कम्पनीलाई आफ्नो देशमा लगानी गराउने सवालमा भारतले चाडै नै मलेसिया, भियतनाम र इन्डोनेसियालाई पछाडि पार्नेछ।
यसबिच तयारी पोसाक बनाउने विश्वका धेरै ब्रान्डले आफ्नो फ्याक्ट्री चीनबाट सारेर बङ्गलादेश पुर्याए। आज बङ्गलादेशमा गएर हेर्दा यस्तो लाग्छ "संसारको कपडाको कुन ब्रान्ड बन्दैन यहाँ?" त्यसको लागि बङ्गलादेश सरकारले गर्नुपर्ने सबै काम गर्यो। ट्याक्स होलिडे, शत प्रतिशत मुनाफा लैजान पाउने, थोरै (कम्तीमा ७५ हजार डलर) लगानी गरेपछि लगानीकर्तालाई सिधै स्थायी बसोबासको सुविधा दिने, पाँच लाख डलर या माथि लगानी गर्ने विदेशीलाई सिधै त्यहाँको नागरिकता दिने लगायतको अरू धेरै सुविधा दियो।
राष्ट्रवादको अतिवाद
हामी नेपाली अलि बढी नै राष्ट्रवादी र राष्ट्रभक्त त बनिरहेका छैनौँ भन्ने प्रश्न पनि गर्नुपर्ने देखिएको छ । हामी यहाँको वास्तविकतालाई स्विकारी रहेका छैनौँ। व्यापारी विनोद चौधरीले "नेपालमा लगानीको वातावरण छैन" भन्दै सामाजिक सञ्जालमा हालेको पोस्टको तल 'RIP' लेख्छौ। तर, कहिल्यै मनन गर्दैनौँ कतै उनको भनाइमा सत्यता त छैन। होला, उनले विदेशमा जोडेको सम्पत्ति यतैबाट लागेको हुनसक्छ । गैर कानुनी रूपमा नेपाली पुँजी विदेश लैजाने उनको धन्धा होला। तर, यहाँ वातावरण छैन भन्ने उनको टिप्पणी गलत होइन।
यो पङ्क्तिकारले नै केही समय अघि "राज्यले लगानीको वातावरण बनाउनुपर्छ" भन्ने बारे लेख्दा धेरै साथीले नराम्रो सोच्नुभयो। खुरुक्क लगानी गरे भइहाल्यो नि कस्तो चाहियो वातावरण ? किन छैन ? भन्ने प्रश्न उठे। हो, वास्तवमा नै त्यस्तो वातावरण छैन। यदि कसैले यहाँ रोजगारी सिर्जना गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्न खोज्ने हो भने अनेकौँ व्यवधान सिर्जना गरिन्छ। त्यस्ता बाधको सुची लामो छ। जसबारे अर्को आलेख नै बन्न सक्छ।
तर, हाम्रो राष्ट्रवाद यति जब्बर छ कि यहाँ बङ्गलादेशले विदेशी व्यापारीलाई नागरिकता दिएर लगानी गर्न उत्प्रेरित गरेको सन्दर्भ प्रस्तुत गरेकै आधारमा समेत आलोचना खेप्नु पर्छ। जसको लागि म तयार छु। यदि हाम्रो सरकारले यस्तो नीति निर्माण गर्यो भने पक्का छ, "विदेशी लगानी चाहिँदैन, देश बेच्न पाइँदैन" भन्दै हाम्रा सडकमा टायर बाल्ने छ। लाखौँको राष्ट्रवादी भिडले यहाँ अराजकता मच्चाउने छ।
रविको रहर र नीतिको अन्तर्विरोध
गृहमन्त्री रवि लामिछानेले केहिदिन अघि चेम्बर अफ कमर्सका पदाधिकारीहरू सँगको भेटमा "व्यवसायीलाई नेताले नभई नीतिले संरक्षण गर्न प्रयासरत" रहेको बताए। उनले जे रहर गरेका छन् त्यो स्वागतयोग्य छ। देश उकास्ने नै हो, रोजगारी बढाउने नै हो भने नीति ठिक हुनुपर्छ। भाषण गरेर मात्र हुँदैन विदेशी लगानीकर्ता आकर्षित गर्ने नीति अत्यावश्यक छ। तर, विडम्बना, हामीसँग अब विदेशी लगानीकर्ता हैन विदेशी पर्यटकलाई आकर्षित गर्ने सम्मको नीति पनि छैन। साँचै देश बनाउने हो भने धेरै नीतिगत सुधारको खाँचो छ।
यो लेख्दै गर्दा मन अमिलो हुने एउटा प्रकरण भर्खरै देखिएको छ। त्यो हो, भन्सार नतिरी दुई वटा मोबाइल बोकेर नेपाल छिर्न नपाउने नीति। मानौँ, कुनै व्यवसायी सुरुमा लगानी गर्ने उद्देश्यले व्यावसायिक अध्ययन गर्न नेपाल आउँदा ऊसँग कति ओटा मोबाइल हुन्छ होला? कम्तीमा दुइटासम्म त पक्कै होला। भन्सारले एउटा बाहेक अरू सिज गर्ने भन्नासाथ उनी अध्यागमनको प्रक्रिया पुरा गरेर पहिल्यै बुक गरेको होटेलतिर लाग्लान् कि तुरुन्त अर्को फ्लाइटमा चढेर लेलेको डाँडो माथिबाट तल सेतो सिंहदरबारतिर हेर्दै मुसुक्क हाँस्छन् होला?
प्रतिक्रिया दिनुहोस