काठमाडौं । केही दिन अघि मन्त्री निवासमा सलामी लिँदा त्यसको तीव्र आलोचना भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो व्यवहार सुधारेका छन्। त्यसको पछिल्लो प्रमाण उनले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएर सार्वजनिक गरेका हुन् ।
उनी शनिवार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा त्यहाँ पुगेका थिए। उनलाई स्वागत गर्न आयोजित औपचारिक कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेका लागि छुट्टै सोफा राखिएको थियो । तर उनले उक्त सोफा हटाएर अरू अफिसरसरहको सोफा राख्न लगाएको उनको सचिवालयले जनाएको छ।
स्मरण रहोस्, लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी समेत हटाएका छन् । आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन् ।
गृहमन्त्रीको सुरक्षामा प्रहरी निरीक्षकको नेतृत्वमा हुने टोलीलाई पनि घटाएर सईको नेतृत्वको सुरक्षाकर्मी राखेका छन् । लामिछानेले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो जानकारी दिएका हुन्। उनले लेखेका थिए, ‘उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला ।’
त्यति मात्र होइन उनले आफू सधैँ ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। जसबारे उनको भनाई छ, ‘सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफ्नो कार्यकाल भरि नै यी नियम पालना गर्छु ।’
व्यक्तिगत कामका लागि कतै जानु परे वा बिदाका दिनमा हिँड्नु परे निजी सवारीसाधन प्रयोग गर्ने उनको घोषणा छ तर यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाब राज्यलाई बुझाउने पनि उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस