काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असफल बनाउने प्रयत्न हुँदै गरे पनि यसलाई सफल पार्ने बताएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले केही बाहिरी तत्त्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए ।
एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताएका हुन् ।
“यो सरकारलाई सफल बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भने, “सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्ग निर्देश गर्छौँ । सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस् ।” उहाँले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए ।
अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरूलाई निर्देशनसमेत दिए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए ।
“हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ”, अध्यक्ष ओलीले भने । उनले सांसदहरूलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए । उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरूलाई जनताका पिर मर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे ।
कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा. शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताइन । उनले संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइन् ।
विभागका सदस्य खिमलाल भट्टराईले संसद्मा एमालेको भूमिकालाई सांसदहरूले प्रभावकारी बनाउनका लागि अभिमुखीकरण गरिएको बताए । उनका अनुसार दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा नेपालको संसदीय अभ्यास र संसदीय प्रणालीका बारेमा जानकारी गराइनेछ ।
कार्यक्रममा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय प्रक्रिया र सांसदको प्रभावकारी भूमिका तथा संसद् सचिवालयका सचिव सुदर्शन खड्काले सङ्घीय संसद् सचिवालय र सांसदको अन्तरसम्बन्ध, पूर्व मन्त्री माधव पौडेलले कानुन तर्जुमा प्रक्रियामा सांसदको भूमिका, प्रशासनविद् काशीराज दाहालले संसदीय समितिको प्रभावकारिता र सांसदको भूमिका तथा पूर्व सचिव शिशिर ढुङ्गानाले भौतिक तथा मानवीय विकासमा सांसदको भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्। अभिमुखीकरण आइतबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस