aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

६८ करोड लगानीमा बनाइयो पोखरामा हवाई इन्धन डिपो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, २४ पुस २०७९
६८ करोड लगानीमा बनाइयो पोखरामा हवाई इन्धन डिपो

काठमाडौं । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएपछि नेपाल आयल निगमले विमानस्थलमा करिब ६८ करोड रूपैयाँ खर्चिएर हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण प्राधिकरणसँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको छ ।

३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांक निर्माण गर्न लागिएको नेपाल आयल निगमका नायव निर्देशक भरत रेग्मीले बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १२ लाख लिटरका तीन वटा ट्यांक निर्माण प्रक्रिया अघि बढाएका छौं,’ रेग्मीले भने, ‘डिपो निर्माणका लागि कम्पनी समेत छनोट भइसकेका छन् ।’

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि अहिले हवाई इन्धन भण्डारण डिपो छैन । पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ । ६७ करोड २९ लाख रूपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका थिए । १२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढ्ने रेग्मीले बताए ।

‘विमानस्थल सञ्चालनमा रहेकाले छिटो निर्माण सक्नुपर्ने दबाब छ,’ रेग्मीले भने, ‘भण्डारणस्थल नबन्दासम्म रिफ्युलर स्टयाण्डबाई राखेर जहाजमा इन्धन भर्ने व्यवस्था मिलाउँछौं ।’ पोखरासहित अन्य विमानस्थलमा पनि हवाई इन्धन डिपो निर्माण गर्नुपर्ने आवश्यकता रहेको निगमले जनाएको छ । निगमले मुलुकका ६ विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गर्ने योजना बनाएको छ । विमानस्थलमा इन्धन डिपो नहुँदा जहाजलाई इन्धन दिन कठिनाइ भएपछि निगमले कदम चालेको हो ।

जनकपुर, सिमरा, भरतपुर, दाङ, मन्थली, झापा लगायतका ठाउँमा हवाई इन्धन डिपो निर्माण गर्न आवश्यक रहेको अध्ययनमा देखिएको थियो । ती विमानस्थलमा डिपो निर्माण गर्न बजेट तथा कार्यक्रममा स्वीकृत भएको छ । नागरिक उड्डयन प्राधिकरणसँग जग्गा लिजमा लिएर डिपो निर्माण गर्ने निगमले जनाएको छ । विमान उडानको चाप भएका विमानस्थलमा बाहिरबाट ट्यांकरमा हवाई इन्धन लगेर भर्न कठिन भएपछि विमानस्थलमा डिपो बनाउने योजना बनाएको हो ।

निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ । पुराना विमानस्थलमा पनि क्षमता वृद्धि गर्ने निगमले जनाएको छ । मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन । डिपो नभएका विमानस्थलमा हवाई जहाजले सम्बन्धित एयरपोर्टमा जाँदा आउँदाको इन्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बोकेर जानुपर्ने बाध्यता छ । 

प्रतिक्रिया दिनुहोस