aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

मेलम्ची खानेपानी र सडक विभागको टकरावले उपत्यकाका सडकमा समस्या

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २४ पुस २०७९
मेलम्ची खानेपानी र सडक विभागको टकरावले उपत्यकाका सडकमा समस्या

काठमाडौं । उपत्यकामा तेस्रो पटक मेलम्चीको पानी वितरण सुरु भएदेखि मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच द्वन्द्व सुरु भएको छ । 

सडक विभागले जथाभाबी सडक खनेर पाइप फुटाई पानी वितरणमा अवरोध सिर्जना गर्नुका साथै करोडौँको क्षति पुर्‍याएको आरोप मेलम्ची खानेपानी आयोजनाको छ । विभागले चाहिँ गुणस्तरहीन वितरण प्रणालीका कारण पानी चुहिन गई सयौँ ठाउँमा सडकमा क्षति पुर्‍याई खाल्टाखुल्टीरहित सडक अभियानलाई अवरोध पुर्‍याएको आरोप सडक विभागको छ ।

पाइप परीक्षण वा पानी वितरणक्रममा तीनकुने, लाजिम्पाटलगायत उपत्यकाका विभिन्न स्थान जलमग्न भएको थियो । मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्रप्रसाद सापकोटाले आयोजनाको पाइप फुटाउँदा पानी वितरणमै समस्या आउन सक्ने बताए । उनले सडकमुनि खानेपानीको पाइप छ भन्ने कुरा मनन गरी सावधानी अपनाएर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

उनले बिहीबार काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणक्रममा मेलम्चीको पाइपमा क्षति पुग्दा कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको बताए । सो क्षेत्रमा मेलम्चीको सात सय एमएमको पाइपमा क्षति पुगेको थियो । त्यसैगरी केही दिनअघि काठमाडौँ सडक डिभिजनले रातोपुल क्षेत्रमा मेलम्ची आयोजनाको तीन सय एमएमको पाइप फुटाई त्यसलाई प्लास्टिकले बेरेर छाडेको र पानी पठाउँदा सो क्षेत्र पनि जलमग्न हुन पुगेको उनको भनाइ छ । यसअघि गत मङ्सिर ३ गते लैनचौर क्षेत्र र कात्तिक २४ गते तीनकुने क्षेत्रमा विद्युत्को तार भूमिगत गर्नेक्रममा नेपाल विद्युत् प्राधिकरणले पाइप फुटाएको थियो । 

आयोजना निर्देशक सापकोटाले अहिलेसम्म सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र विभिन्न स्थानीय तहले सडकमा काम गर्नेक्रममा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण प्रणालीमा करिब २५ करोड रुपियाँबराबरको क्षति पुगेको दाबी गरे । सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेले काठमाडौँको अधिकांश सडकमा मेलम्चीको पानी चुहिएर सडकलाई नै भताभुङ्ग बनाएको आरोप लगाए । पानी चुहिएर कतिपय सडक हिलाम्मे हुनुका साथै खाल्टाखुल्टीरहित सडक बनाउने सरकारको अभियानमा समेत चुनौती थपिएको उनको भनाइ छ । 

गत महिनामात्र मर्मतसम्भार गरी खाल्टाखुल्टीरहित बनाइएको रातोपुल–ज्ञानेश्वर सडकखण्डमा शुक्रबार मेलम्ची खानेपानीको पाइप फुट्न गई कालोपत्रे सडक तथा सडकका संरचनामा अत्यधिक क्षति भएको उनले बताए । उनले भने, “यस्तो अवस्था अन्य सडकखण्डमा समेत रहेकाले खाल्टाखुल्टीरहित सडक अभियानमा कठिनाइ भइरहेको सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।” 

प्रतिक्रिया दिनुहोस