aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विमानभित्रै महिलाको शरीरमा पिसाब गर्ने यी नागरिक पक्राउ

  • रासस
    रासस
  • आइतबार, २४ पुस २०७९
विमानभित्रै महिलाको शरीरमा पिसाब गर्ने यी नागरिक पक्राउ

नयाँ दिल्ली । एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारी शंकर मिश्रलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् ।

गएको नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली आउने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।

घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्वउपाध्यक्ष मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार मिश्रले आफ्नो फोन स्वीच अफ गरेका थिए । तर, सामाजिक सञ्जालमा आफ्ना साथीहरूसँग सम्पर्कमा रहँदै आएका थिए । उनले भारतको बैंग्लोरमा क्रेडिट कार्डबाट रकम लेनदेन पनि गरेको पाइएको थियो । यिनै प्रमाणका आधारमा उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । उनलाई राजधानी नयाँ दिल्ली ल्याई आरोपहरूको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

दिल्लीका एक प्रहरी प्रवक्ताले मिश्रलाई पक्राउ गरिएको पुष्टि गर्दै एएफपीसँग अरू विवरण प्रहरी अनुसन्धानपछि प्राप्त हुने बताएका थिए ।

वेल्स फार्गोले आफ्ना कर्मचारीलाई शुक्रबार नै बर्खास्त गरिएको जनाएको छ ।

एयरलाइन्सले यस घटनालाई उचित तरिकाले सम्बोधन गर्न असफल भएको र उडानको समयमा मदिरा सेवा उपलब्ध गराउने आफ्नो नीतिको पुनरवलोकन गरिरहेको जनाएको छ ।

भारतको उड्डयन नियामक निकायले यसै साता आफ्नो व्यवस्थापनलाई उक्त घटनाको रिपोर्टिङ नगरेको भन्दै चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस