काठमाडौं । प्रदेश नं. १ मा आज नयाँ मुख्यमन्त्री चुनिदै छन् । प्रदेश प्रमुख परशुराम खापुङले दलहरुलाई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्न आज साँझ पाँच बजेसम्मको समय दिएका हुन् ।
९३ सदस्यीय प्रदेश १ मा नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।
यहाँ सरकार बनाउन ४७ सांसदको मत आवश्यक हुन्छ । यस प्रदेशमा सत्ता गठबन्धनमा रहेका एमाले, माओवादी, राप्रपा, एकिकृत समाजवादी र जसपाको मत जोड्दा ६४ सांसद हुन्छन् । गठबन्धनसँग दुईतिहाइ भन्दा बढीको बहुमत छ ।
यस प्रदेशमा एमाले र माओवादी दुवै दलले मुख्यमन्त्रीमा दाबी गरेकाले सरकार निगर्माणको विषय पेचिलो बनेको छ । एमालेबाट प्रदेश संसदीय दलको नेता हिक्मत कार्की र माओवादीबाट प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर आङुबो मौसम मध्य एकजना यो प्रदेशको मुख्यमन्त्री हुनेछन् ।
प्रतिक्रिया दिनुहोस