aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

गोसोनको अध्यक्षमा प्राडा गेहनाथ बराल निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ पुस २०७९
गोसोनको अध्यक्षमा प्राडा गेहनाथ बराल निर्वाचित

काठमाडौँ। नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)को अध्यक्षमा प्राडा गेहनाथ बराल निर्वाचित भएका छन्। शनिवार काठमाडौँ भएको सम्मेलनले उनलाई दुई वर्षको लागि सो जिम्मेवारीमा निर्वाचित गरेको हो। प्राडा बराल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पनि अध्यक्ष हुन्। 

नेपाल स्त्री क्यान्सर रोग समाजको दोस्रो वैज्ञानिक सम्मेलन स्वास्थ्य सेवा विभागका महा-निर्देशक डा. दीपेन्द्र रमण सिंहको प्रमुख आथित्यतामा सम्पन्न भएको गोसोनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्वदेश तथा विदेशका गरी करिब १५० जना विशेषज्ञहरूको उपस्थितिमा ४० भन्दा बढी कार्यपत्रहरू प्रस्तुत भएका थिए।

"Gynecological Cancer Care Bridging the gap in low resource setting" को नारा सहित सुरु गरिएको सो सम्मेलन महिलाको प्रजनन अङ्गका विभिन्न प्रकारका क्यान्सरहरू जस्तै पाठेघर, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय तथा योनिमार्गको क्यान्सर सम्बन्धी निदान, उपचार, रोकथाम, स्कूनिड तथा अनुसन्धान सम्बन्धी विभिन्न विधाहरूका बीच सकारात्मक छलफल तथा बिचार आदान-प्रदान गर्न गराउन सफल रह्यो ।

उत्कृष्ट कार्यपत्र प्रस्तोता दुई जनालाई पुरस्कृत समेत गर्दै यही सम्मेलनको अवसरमा यस समाजका सल्लाहाकारद्वय डा. विष्णु दत्त पौडेल र श्री प्रभुराज वैद्य, संस्थापक अध्यक्ष डा. अचला वैद्य साथै नेपाल प्रसूति तथा स्त्रीरोग समाज (नेसोग) को तर्फबाट पूर्व अध्यक्ष एवं वर्तमान प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो।

सम्मेलनले नेपाल स्त्री-क्यान्सर रोग समाज (गोसोन) को आगामी दुई वर्षको लागि प्रा. डा. गेहनाथ बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत छनोट गरी विभिन्न सरोकारवाला सरकारी एवं गैरसरकारी संस्थाहरूसँग समन्वय गर्दै महिलाको प्रजनन अङ्गको क्यान्सर सम्बन्धी कार्य थप बिस्तार गर्दै जाने प्रतिबद्धतासहित एक दिने सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस