
काठमाडौं । आर्थिक वर्ष २०७५/७६ मा चालु खाता २६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा २४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३७ करोडले चालु खाता घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा ५९ करोड १० लाखले घाटामा रहेको राष्ट्र बैंकले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५/७६ मा पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रुपैयाँरहेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
विदेशी विनिमय सञ्चिति कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११०२ रुपैयाँ अर्ब ५९ करोड रहेकोमा २०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९८९ अर्ब ४० करोड रुपैयाँ रहेकोमा २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा २०७६ असार मसान्तमा१३६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । २०७६ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस