काठमाडौं । भारतीय शहर दिल्लीमा ४ वर्ष र बडोदा (गुजरात) मा ४ वर्ष ट्रान्सपोर्टमा काम गर्ने श्रीमान सँगसँगै बसेर छोराछोरी हुर्काएकी ३५ वर्षीया तारादेवी भट्ट पराई देशमा घरबारविहीन अवस्थामै आफ्नो जिन्दगी सकिने भो भन्ने सधैं चिन्तामा रहन्थिन् ।
पतिले काम गरेर जति कमाए पनि रक्सी खाने बानीका कारण बचत सधै शून्य नै हुन्थ्यो । रक्सी खाएर हुने सबैको घरायसी कलहले बाँचौ कि मरी भन्ने अवस्थामा पुगेकी तारालाई गुनासो पोख्न माइती जाँदा समेत बुबाले सधै एउटै वाक्य भन्थे, ’कलमली साउनका महिना, उदेक लाग्दी बर्खा ।
‘नपुग्या माइत है दिउँला, घरखा चेली घरखा’ (जे जस्तो कठिन परिस्थिति भए पनि संघर्ष गर नपुगेक खण्डमा माइतीबाट नै भए पनि व्यहोरौला) । बुबा आमाका यस्तै ढाडसका शब्दहरूले दुःखका दिनहरू बित्दै थिए । त्यही दौरानमा उनले अकस्मात अर्को बज्रपात बेहोर्नुपन्यो । माइतीघरबाट हरदम सहयोग गर्ने बुबा र सहोदर भाइ दुर्घटनाका कारण गुमाउनु पर्याे ।
बुबा र भाइको देहावसानपछि तारा स–परिवार नेपाल त आइन् तर उनलाई माइग्रेन भयो । बरेली (भारत) स्थित भोजीपुरा हस्पिटलमा १ वर्षको उपचारपछि उनी केही सामान्य अवस्थामा आएर मौरीफाँटामा रहेको आफ्नो अंशको ऐलानी जग्गामा सानो घर बनाएर बस्न थालिन् । जिन्दगीका अमूल्य अनि उर्वर समय भारतमै बिताएका उनका पतिले पनि जिन्दगीमा खाएका ठूलाठूला हन्डरबाट अब भने यु–टर्न लिइसकेका थिए ।
भाइ र बुबाको सम्झना आउँदा तारा फेरि बिरामी पर्न सक्छिन् भनेर उनका श्रीमानले उनलाई व्यस्त बनाउन केही व्यवसाय गर्न सुझाव दिए ताराले पनि गाउँघरमा सहजरूपमा गर्न सकिने भैंसीपालन गर्ने आँट गरिन् लघु वित्तीय संस्थाबाट कर्जा लिएर एउटा १ छाक मात्रै दुध दिने र ४ महिनापछि ब्याउने भनेर भैंसी किनिन् ।
तर ब्याउने भनेर किनेको उक्त भैंसी बाँक रहेपछि घरछिमेकका सबैले होच्याउन थाले । आईमाई बाठी भएर आफै भैंसी हेर्न गाथिन्, कम मूल्यमा पाएँ भन्थिन्, बाँझो भैंसी लिएर आइन् भनेर छरछिमेकले भन्न थाले । कैयौ ठक्कर खाँदा त हरेस नखाएकी तारा भैंसी बाँझो रहेको कुरामा समेत विचलित भइनन् । उनी निरन्तर भैंसीको स्याहारमा लागिन् र समूहबाट केही ऋण लिएर थप एउटा लैनो भैंसी किनिन् ।
आधाजसो जिन्दगी भारतमा नै काम गरेर बिताएका उनका श्रीमानलाई हलो जोत्न पनि आउँदैनथ्यो । त्यसैले उनले खेतीबाली गर्नेतर्फ सोच्नै सकिनन् । उनले गाउँबाट आफ्नो र अन्य किसानहरूको दुध संकलन गरेर साइकलमा बोकेर नजिकैको बजार अत्तरियामा बेच्न थालिन् ।
आफूसँग १० कट्ठा ऐलानी जग्गा मात्रै भएकोले बैंक कर्जा समेत नपाएकी तारालाई अत्तरियामा दुधले राम्रो बजार पाएकोले व्यवसाय विस्तार गर्ने रहर पलाइसकेको थियो । यही सिलसिलामा दुध बेच्न अत्तरिया गएका ताराका श्रीमानको कृषि विकास बैंक शाखा अत्तरियाका प्रबन्धक हरिश्चन्द्र जोशीसँग भेट हुन पुग्यो । बैंकमा सबै यथार्थता भनेपछि सुरुमा उनले रू. ८ लाख बिनाधितो महिला उद्यमशीलता कर्जा लिई व्यवसाय विस्तार गरिन् ।
व्यवसाय विस्तार हुँदै गएपछि उनले हाल कर्जा पनि बढाएर रू. १० लाख लिएकी छिन् । कर्जासँगै उनले आफ्नो पुँजीसहित रु. २० लाख लगानी गरेर २० वटा भैसी र ७ वटा पाडापाडीहरू पालेकी छिन् । हाल उनले १० कठ्ठा जमीन भाडामा लिएर भैंसीलाई चाराको निम्ति घाँस लगाएकी छिन् । आफूसहित ४ जना कामदार पनि काममा लगाएकी तारा बिहान ४ बजे उठेर फार्ममा भैंसी दुहुन आउँछिन् ।
उता उनका श्रीमान् गाउँमा दुध संकलन गर्न जान्छन् । प्रतिदिन झण्डै २ सय लिटर दुध अत्तरिया पुर्याउने ताराका श्रीमानको हिजोआजको दिनचर्या र भारतमा काम गर्दाको रक्सी खाने बानी देख्दा उनलाई लाग्छ कथामा सुनेका रत्नाकार डाँकुबाट परिवर्तन भई वाल्मीकि बनेका साँच्चै रहेछन् । तारा स्वयं पनि अहोरात्र पसिना बगाइरहेकी हुन्छिन् ।
बैक कर्मचारीको भनाइ अनुसार ‘केही दिन पहिले शाखामा कर्जा लिन स्कुटी चढेर आउँदा त यसरी स्कुटीमा सररर घुम्नेले के कृषि व्यवसाय गर्लिन् के भैंसीको गोठ गोबर सफा गर्लिन् भन्ने लागेको रहेछ । ताराले पनि ती कर्मचारीलाई हाँस्दै भनिन्, ‘सर, देख्नु भो त, म काम गर्न सक्छु कि नाइँ’
मैले जीवनमा धेरै कुरा सिकेकी छु सर । समय परिस्थतिअनुसार परिवर्तन भएर चल्न सक्नुपर्दो रहेछ ।
यदि यसरी चल्न नसकेको भए मेरो जीवन यहाँ पुग्ने नै थिएन । यति भन्दै ताराले आफ्ना विगतका वृतान्त सुनाउँदै भावी कार्ययोजना प्रस्तुत गरिन् । विगतमा बाँझो भैंसी किन्दा कुरा काटनेहरू पनि आजभोलि आफ्नो प्रशंसा गर्न थालेकोले तारा भन्छिन्, ‘जिन्दगीमा हार कहिल्यै पनि खानुहुँदैन रहेछ । निरन्तर संघर्ष गरिरहे एक दिन अवश्य सफल भइने रहेछ । जीवनमा सधैं रात मात्र रहँदैन, केही समय पर्खिन सक्नुपर्दो रहेछ, सूर्यले उज्यालो छर्ने नै रहेछ ।’
उनीसँग कुरा गर्दै जाँदा अत्यन्तै अफ्ठ्यारा दिनहरूमा कृषि विकास बैंकले उद्यम गर्न सघाएको कुरा उनी आजीवन बिर्सन नसक्ने बताइरहेकी थिइन् । बैंककै सहयोगले अचेल उनी बसिरहेको ऐलानी जग्गामा ४ कोठाको पक्की घर निर्माण गरेकी छिन् । साथै, गुलरिया बजारमा रहेको कञ्चनजंगा बोर्डिङ्ग स्कुलमा आफ्ना सन्तानहरूलाई पढाइरहेकी छिन् । सफा र चिटिक्क परेको गोठमा लहरै रहेका भैंसीहरू मस्तसँग घाँस खाइरहेका थिए ।
उनको भनाइ अनुसार ती अत्यन्तै कठिन दिनहरूपछि उनको मुहारमा आएको मुस्कान यी भैंसीहरूले गर्दा नै हो रहेछ । यी भैसीहरूको संगतले नै उनको आँसु पुछिएको र संघर्षमय समयमा सहयात्री बनेर सहयोग गरेको कृषि विकास बैकले आगामी दिनमा समेत आफूले व्यवसाय वृद्धि गर्दा कर्जा विस्तार गरी सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको बताउँछिन् साथै, उनी आफूजस्तै घरजग्गा धितो दिन नसक्ने अन्य उद्यमीहरूलाई पनि बैंकले धितोबिना नै परियोजनाको आधारमा कर्जा प्रवाह गरी सहयोग गरिदिनुपर्ने विचार व्यक्त गर्छिन् ।
(सफलताको कथाबाट साभार)
प्रतिक्रिया दिनुहोस