aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छः सचिव मरासिनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ पुस २०७९
पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छः सचिव मरासिनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रह गरेका छन् । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहेका मरासिनीले भने, “विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रुपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई सोही रुपमा विकास गर्न सक्नुपर्छ ।” 

आज नेपाल आयल निगमले ५३औंँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले पेट्रोल पम्पहरुलाई पूर्ण अटोमेटेड र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गरे । आफू समितिमा आएको छोटो समय मात्रै भए पनि बाहिर रहँदा समेत निगमसँग नजिक रहेर काम गरेको बताउँदै अध्यक्ष मरासिनीले निगममा रहँदा आफूले यो क्षेत्रको थप सुधारका लागि पहल गर्ने बताए । सबै गतिविधि पारदर्शी रुपमा गर्दा पनि निगममाथि प्रश्न उठ्ने गरेको भन्दै उहाँले यसप्रति सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए । 

यद्यपि सुधारको विकल्प थप सुधारबाहेक अरु केही नभएको उनको भनाइ छ । उनले निगमको कारोबारलाई नगदमा आधारितभन्दा लगानीमा आधारित बनाउनुपर्नेमा समेत जोड दिए । यसका लागि सिर्जनशील सोचको जरुरत भएको भन्दै उहाँले आफू निगममा रहँदासम्म यसका लागि पहल गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस