
पृथ्वीनारायण शाहले एकीकरण अभियान सुरु गर्नु ठिकअघि गोर्खाकै जनसङ्ख्या १२ हजार घरधुरी मात्र थियो। अर्को शक्तिशाली राज्य तनहुँको जनसङ्ख्या पनि १२ हजार घरधुरी नै थियो। कास्की र लमजुङको जनसङ्ख्या आठ–आठ हजार घरधुरी मात्र थियो। नुवाकोटमा त अझ ६ सय घरधुरीभन्दा बढी थिएन। त्यो बेला अलि बढी जनसङ्ख्या भएका पाल्पा र जुम्लामा २४–२४ हजार घरधुरी मात्र बसोबास गर्थे।
यति कम जनसङ्ख्या र आधुनिक कृषि प्रणाली विकास नभएको त्यो बेला अरू कुनै स्रोतबाट टन्न खेती गरेर उत्पादन वृद्धि गर्ने गुञ्जायसै थिएन। बसोबासको ढाँचा आफैँमा अनुत्पादक थियो। कृषिका लागि उर्वर समथर क्षेत्र घना जङ्गलले ढाकिएको हुन्थ्यो भने मानवबस्ती माटोको माथिल्लो पत्र (टप सोयल) पातलो भएको र भू-क्षयको डर हुने डाँडाकाँडामा थियो, जुन खेतीका लागि उपयुक्त हुँदै होइन। यसले उत्पादन र पुँजी वृद्धिमा ती राज्य स्वाभाविक रूपले पछाडि परे।
काठमाडौं उपत्यकाको जनसङ्ख्या ५० हजार घरधुरी थियो। यहाँको फराकिलो भू–बनोट अहिले पनि खेतीका लागि मलिलो मानिन्छ। उत्पादन र पुँजी निर्माणका दृष्टिले यी दुवै उपयुक्त अवस्था हुन्। यही आर्थिक समृद्धिले नै काठमाडौँमा त्यति बेलै कला–संस्कृतिको प्रचुर विकास सम्भव भएको हो। काष्ठमण्डपजस्तो संरचना आजभन्दा १३ सय वर्षअघि सन् ७४१ आसपास निर्माण हुनुले यही दर्साउँछ। चाँगुनारायण, स्वयम्भू, पशुपतिनाथ र उपत्यकाभरि जुन स्तरमा स्तूप तथा संरचनाहरू निर्माण भएका छन्, त्यो काठमाडौँभन्दा बाहिर देखिँदैन।
काठमाडौं समृद्ध हुनुको अर्को महत्त्वपूर्ण कारण तिब्बत र भारतसँगको व्यापारिक सम्पर्क पनि हो। त्यति बेला तिब्बतसँगको व्यापार भनेको यताबाट अन्न लगेर नुनसँग साट्ने हो। भारतसँग भने मुख्यतः सुती कपडाको व्यापार हुने गरेको थियो। सन् ७९५ मा प्रकाशित अरबी किताब 'हु दुद-अल-आलम' मा नेपाल (काठमाडौं) बाट गएको ऊन, चौँरीको पुच्छर लगायत वस्तुबारे उल्लेख छ। यसले काठमाडौँबाट यी वस्तुको व्यापार त्यसै बेला हुन थालिसकेको सङ्केत गर्छ।
मल्लकालसम्म आइपुग्दा काठमाडौं राज्यको समृद्धि झन् बढेको थियो । त्यति बेला तिब्बतलाई चाहिने मुद्रासमेत काठमाडौं आफैँले उत्पादन गरी आपूर्ति गर्न थालेको थियो। एक रुपैयाँको सिक्का बनाउँदा ३३ पैसाको तामा प्रयोग हुने गरेको रेकर्ड छ। यसले काठमाडौँलाई कमिसन मात्र प्राप्त भएन, तिब्बत व्यापारमा काठमाडौंको एकाधिकार कै स्थिति बन्यो।
वि.सं. १७०० तिर भीम मल्लका पालामा तिब्बतीहरूले नेपाली व्यापारीलाई उतै बसोबास र बिहाबारी गर्ने अनुमति दिएको देखिन्छ। यस्तो बिहेबारीबाट छोरी जन्मे तिब्बती हुने र छोरा भए नेपाली हुने सम्झौता भएको थियो। मल्लकाल कै चर्चित राजा प्रताप मल्लको पालामा आउँदा त काठमाडौँले आफ्नो सर्तबमोजिम तिब्बतसँग व्यापार गर्न थालिसकेको थियो।
जयप्रकाश मल्लको पालामा काठमाडौँमा बसोबास गर्ने सन्न्यासी समुदायका कमल वन सबभन्दा धनी मान्छे थिए। उनले काठमाडौं आक्रमण गर्ने गोर्खाली राजा पृथ्वीनारायण शाहदेखि जयप्रकाश मल्ल स्वयंलाई ऋण दिएको इतिहासमा उल्लेख छ। पृथ्वीनारायण शाह हतियार किन्न भारतको बनारस जाँदा कमल वनसँग १२/१३ हजार रुपैयाँ ऋण लिएर गएको देखिन्छ।
दरबारभित्रकै आन्तरिक कलहको चपेटामा परेका र श्रीमतीले समेत असहयोग गरेका राजा जयप्रकाश मल्लले पनि लडाइँ लड्न कमल वनसँगै आर्थिक सहयोग माग्नुपरेको थियो। उनले आफ्नी आमा कुमुदिनी देवीका गरगहना धितो राखेर ६ हजार ऋण लिन खोजेको इतिहास छ। धादिङको जग्गा धितो राखेर एक लाख रुपैयाँ ऋण लिएको पनि देखिन्छ। जयप्रकाश मल्ल लडाइँ हार्दै गएपछि कमल वनले ऋण तिर्न ताकेता गर्दै चिठी लेखेको इतिहासमा उल्लेख छ।
काठमाडौं राज्यको यही समृद्धि र सम्पन्नताबाट लोभिएर नै पृथ्वीनारायण शाह यहाँ आक्रमण गर्न प्रेरित भएको केही इतिहासकारको भनाइ छ। यसमा सत्यता छ कि छैन यकिन भन्न सकिन्न। तर, काठमाडौं जितेपछि विस्तारित गोर्खा राज्यको राजधानी काठमाडौँलाई नै बनाउने निर्णयमा यहाँको समृद्धि र सम्पन्नता नै कारक थियो भन्नेमा कसैको दुबिधा छैन।
यति मात्र होइन, पृथ्वीनारायण शाहले काठमाडौं राज्यमाथि विजय हासिल गर्न जुन रणनीति लिए, त्यो पनि यहाँको आर्थिक समृद्धिको जग हल्लाएर राज्यलाई कमजोर तुल्याउने षड्यन्त्रसँग नै जोडिएको छ।
उनले काठमाडौं जित्ने अभियानअन्तर्गत सबभन्दा पहिला नुवाकोटमाथि धावा बोलेका थिए। नुवाकोट जितेपछि तिब्बतसँग व्यापार गर्ने काठमाडौंको एउटा महत्त्वपूर्ण केरुङ नाका गोर्खाको कब्जामा गयो। यसबाट धरमराएका जयप्रकाश मल्ललाई कमल वनले पनि पत्याएनन्। यो पृथ्वीनारायण शाहको निम्ति ठुलो जित थियो।
नुवाकोट जितेपछि पृथ्वीनारायणले कीर्तिपुर हमला गरे। जब त्यहाँ नराम्ररी पराजय भोग्नुपर्यो, उनले काठमाडौँलाई चारैतिरबाट घेरेर आर्थिक नाकाबन्दी गर्ने निधो गरे। यसका लागि चौकोठ, धुलिखेल, साँगा, बनेपा, पनौती लगायत पूर्वी राज्य जितेर काठमाडौँलाई तिब्बतसँग जोड्ने सम्पूर्ण नाका बन्द गरिदिए। केरुङ नाका बन्द भएपछि लडखडाएको काठमाडौंको आर्थिक समृद्धिमाथि यो अर्को ठुलो झट्का थियो।
उत्तरी नाकासँग काठमाडौंको सम्पर्क विच्छेद गरेपछि पृथ्वीनारायण शाहले दक्षिणतर्फका चिसापानी गढी र मकवानपुर राज्यलाई गोर्खामा गाभे। यसले भारतसँग पनि काठमाडौंको सम्पर्क टुट्यो। तिब्बत र भारतसँग व्यापार गरेर आर्थिक रूपले चम्किएको काठमाडौंको यी दुवैसँग सम्पर्क विच्छेद भएपछि ढाडै भाँच्चियो। यही मौकामा सिङ्गो उपत्यका कुमारी जात्रामा रमाएको अवसर छोपेर गोर्खाली सेनाले काठमाडौँमाथि हमला गर्यो। र, जित्यो। (तेह्र सय वर्ष लामो नेपाली अर्थतन्त्रको 'हेलिकप्टर यात्रा' विश्व पौडेलबाट सम्पादन सहित साभार )
प्रतिक्रिया दिनुहोस