aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

शंकास्पद ४५ करोड काण्ड के हो ? राष्ट्र बैंकको सिफारिसमा विभागले थाल्यो अनुसन्धान

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, २८ पुस २०७९
शंकास्पद ४५ करोड काण्ड के हो ? राष्ट्र बैंकको सिफारिसमा विभागले थाल्यो अनुसन्धान

काठमाडौं । राजनीतिक दलका नेता र शक्तिकेन्द्रको संरक्षणमा बसेर शंकास्पद आर्थिक कारोबार गर्दै आएका बिचौलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका छन् । भट्ट र उनको एकल स्वामित्वमा रहेको ‘इन्फिनिटी होल्डिङ्स’ मार्फत भएका विभिन्न कारोबारको स्रोत नखुलेपछि राष्ट्र बैंकको सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग बयानसमेत लिइसकेको छ ।

सबैजसो सरकारका पाला शक्तिको ‘काख’ मा बस्दै आएका भट्टले सेना र प्रहरीको रासन, पोसाक र हेलिकोप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युत्का लाइसेन्समा रजगज गरिरहेका छन् । अझ, शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएका बेला त उनले निश्चित व्यापारीको स्वार्थअनुसार करका दर हेरफेरमै हस्तक्षेप गरेको आरोप छ ।

अर्थमन्त्रीका रूपमा पछिल्लो पटक बजेट ल्याउँदा शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि सीसीटीभी फुटेजसमेत ‘डिलिट’ गराइएको थियो । त्योभन्दा अघिल्लो वर्ष उनले पूरक बजेट ल्याउँदा पनि सीमित ठूला स्टिल उद्योगका लागि कच्चा पदार्थको भन्सारमा छुट दिएर साना उद्योगलाई संकटमा पारेका थिए । शर्माको कार्यकालमा भट्टले बिचौलियाको भूमिका खेलेका थिए भन्ने आरोप छ ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएको कागजपत्रका प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ । कागजपत्रअनुसार भट्टको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा सन् २०२१ जुनमा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इनभेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । ‘तर, जगदम्बा स्टिलको २०७७र७८ को लेखापरीक्षण प्रतिवेदनमा भट्ट र उनको कम्पनीसँग ४५ करोडको कारोबार भएको विवरण छैन,’ एफआईयूले विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

त्यस्तै भट्टका नाममा रहेको ओभरड्राफ्ट ९ओडी० खातामा सन् २०२१ जुन र जुलाईमा ३० करोड १५ लाख ८७ हजार ‘ट्रान्सफर’ गरिएको थियो । यहीबीचमा यही खाताबाट ४५ करोड ४ लाख ४५ हजार निकालिएको थियो । बैंकबाट स्वीकृत ऋण चलाउन वा शोधभर्ना गर्न मात्र ओडी खाता सञ्चालन हुन्छ । तर, जम्मा ५० लाख सीमा भएको यो खातामा भट्टले ४५ करोडसम्मको कारोबार गरेका थिए ।

भट्टको एकल स्वामित्वमा रहेको ‘इन्फिनिटी होल्डिङ्स प्रालि’ का नाममा रहेको ओडी खातामा पनि यही समयमा रकम ओहोरदोहोर भएको छ । यो खातामा ओडीको सिमाना ४४ करोड हो । तर, सन् २०२१ जुलाईमा यो खातामा १८ करोड ४० लाख ९५ हजार जम्मा गरिएको थियो भने ६३ करोड ४० लाख ९३ हजार निकालिएको छ ।

‘ऋण लिने प्रयोजनका लागि खोलिएका खाताबाट सीमाबाहिरका कारोबार भएका छन् । ऋणको आवरणमा बाहिरबाट शंकास्पद रकम जम्मा गराउने र अन्य शंकास्पद खातामा रकमान्तर गरिएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस