aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

यो वर्ष विश्वमै आर्थिक मन्दी लम्बिने, नेपालको वृद्धिदर ५.१ प्रतिशत

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, २८ पुस २०७९
यो वर्ष विश्वमै आर्थिक मन्दी लम्बिने, नेपालको वृद्धिदर ५.१ प्रतिशत

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ ।

विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने प्रक्षेपण गरेको छ । प्रक्षेपण प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत रहने अनुमान गरेको छ । ८ महिनाअघि मात्रै ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको हो ।

विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

विश्व बैंकको बुधबार प्रकाशित विश्व आर्थिक परिदृष्यअनुसार युक्रेन युद्धको प्रभाव दक्षिण एसियामा पनि पर्ने छ । यसले गर्दा सन् २०२२ मा आिर्थक वृद्धिदर ६ दशमलव १ मा मात्र हुने र यो घटेर सन् २०२३ मा ५ दशमलव ५ मात्र हुनेछ । सन् २०२४ मा भने यो ५ दशमलव ८ मा उक्लिने छ ।

विश्व बैंकका अनुसार दक्षिण एसियाका मुलुकहरूमा सबैभन्दा बढी आर्थिक वृद्धि माल्दिभ्सको नै हुनेछ । सन् २०२१ मा ४१.७ प्रतिशत आर्थिक वृद्धि गरेको माल्दिभ्सको कोरोनाका कारण सन् २०२२ मा १२.४ मा सीमित हुनेछ भने २०२३ मा ८.२ हुनेछ । सबैभदा कम आर्थिक वृद्धि पाकिस्तानको हुने प्रक्षेपण गरिएको छ । पाकिस्तानको सन् २०२१/२२ मा ६ प्रतिशत, सन् २०२२/२३ मा २ प्रतिशत र २०२३/२४ मा ३.२ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

विश्व बैंकका अनुसार सन् २०२४ मा अफगानिस्तान, पाकिस्तान र श्रीलंकामा गरिबीको संख्या बढ्दै जाने छ । भारतको, सन् २०२२/२३ मा ६.९ प्रतिशत र २०२३/२४ मा ६.६ प्रतिशतको आर्थिक वृद्धि हुने छ । 

प्रतिक्रिया दिनुहोस