
काठमाडौं । प्रतिनिधिसभाले ५ माघमा सभामुख पाउने भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदले नयाँ सभामुख चयन गर्न प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।
संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन उम्मेदवारी दर्ता गर्ने र तेस्रो दिन निर्वाचन हुनेछ ।
संघीय संसद सचिवालयले सभामुख चयनका लागि ३ माघमा निर्वाचन कार्यक्रमसहितको सूचना निकाल्ने छ । यस्तै, ४ माघमा उम्मेदवारको मनोनयन दर्तालगायतका प्रक्रिया अघि बढाउने सचिवालयको तयारी छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख चयनका लागि ५ माघका दिन ११ बजे निर्वाचन गर्नेगरी प्रक्रियाअघि बढाउने तयारी भएको जानकारी दिए ।
‘५ माघमा सभामुख चयन गर्नेगरी तयारी भएको छ, ४ माघका दिन नै मनोनयन दर्तालगायतका प्रक्रिया अघि बढाउने गरी ३ माघमा सूचना प्रकाशित गर्ने योजना बनाएका छौं,’ संसद सचिवालयका प्रवक्ता गिरीले राजधानीसँग भने ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रतिनिधिसभाको अर्को बैठक ५ माघमा बस्ने गरी सकिएको छ ।
हाल प्रतिनिधिसभाको अध्यक्षता ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गर्दै आइरहेका छन् । प्रतिनिधिसभाले सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले नै संसद सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ । तर, संसद सुचारु भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ ।
संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने उल्लेख छ ।
१० पुसमा देशको प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिइसकेका छन् । उनलाई प्रतिनिधिसभामा उपस्थित २७० सदस्यमध्ये २६८ सदस्यले विश्वासको मत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस