
काठमाडौं । दक्षिण एसियामा गत वर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ । मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लानिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् ।
एलनिनोको प्रभावका कारण अघिल्लो वर्षमा कम मनसुनी वर्षा भए पनि यो वर्ष पूर्ण रूपमा एलनिनोको प्रभाव नभएको र लानिनोको प्रभाव बढी भएको हुँदा मनसुनी वर्षा बढी हुने पूर्वानुमान गरिएको छ । विश्व जल तथा मौसम संगठनको दक्षिण एसिया क्षेत्रीय मञ्च ९सास्कोफ०ले दक्षिण एसिया क्षेत्रमा लानिनोको प्रभाव बढी भएकाले वर्षा बढी हुने निष्कर्ष निकालेका हुन् ।
आगामी मनसुनी अवस्थाको विषयमा छलफल गर्न हरेक वर्ष हुने सास्कोफ बैठकले नियमित मनसुनी वर्षाभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
‘लानिनोको प्रभाव बढ्दो रूपमा रहेको हुँदा त्यसैको प्रभावले आगामी मनसुनमा बढी वर्षा हुने निष्कर्ष निकालिएको हो,’ मौसमविद् पौडेलले भने, ‘पछिल्लो समयमा मौसमी गतिविधिमा आएको परिवर्तन कारण मनसुनको समयमा एकैपटक ठूलो मात्रामा पानी पर्ने र पुनः रोकिएर केही दिन घाम लाग्ने समस्या भने कायमै रहन्छ ।’
उनले यस्तो अवस्थामा हुने वर्षाले कृषि क्षेत्रमा राम्रो गरे पनि मनसुनको समयमा बाढी पहिरोको प्रकोप बढ्न सक्ने बताए । विश्व जल तथा मौसम संगठनले अघिल्लो वर्ष अत्यधिक गर्मी बढेको वर्षका रूपमा घोषणा गरेको थियो । उसले मौसममा भएको फेरबदल तथा जलवायु परिवर्तनको प्रभावका कारण औसतमा १ डिग्री सेल्सियस तापक्रम बढी भएको बताएको थियो । यो वर्ष दक्षिण एसियामा औसतभन्दा बढी वर्षाको सम्भावनासँगै तापक्रम वृद्धिका कारण प्राकृतिक विपद्को घटना भने बढ्न सक्ने निष्कर्ष निकालिएको छ ।
अहिलेसम्म काठमाडौंमा अधिकतम तापक्रम ३५ र तराईका जिल्लामा ४५ डिग्रीसम्म पुगेको देखिएको छ । यसपटक तापक्रम बढ्नुसँगै वर्षा बढी हुने सम्भावना हुँदा विपद्का घटना बढी हुनसक्ने पूर्वानुमान महाशाखाले गरेको छ । यो वर्ष पुसदेखि नै नियमित वर्षा भइरहेको छ । फागुनदेखि प्री मनसुन सक्रिय बनेको महाशाखाले जनाएको छ ।
वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले यो वर्ष मनसुनी वर्षा विगतका तुलनामा बढी हुन सक्ने पूर्वानुमान गरिएको बताए । आगामी वर्ष सुदूरपश्चिमी र मध्य क्षेत्रका जिल्लामा औसतभन्दा बढी वर्षा हुने र पूर्वी भागमा औसत वर्षा हुने पूर्वानुमान गरिएको छ । नेपालको मनसुनमा पूर्वीवायुको योगदान ८५, पश्चिमी वायुको योगदान २ दशमलव ५ र प्री–मनसुनको योगदान १२ दशमलव ५ प्रतिशत हुने गर्छ ।
तर, यस वर्ष पश्चिमी वायुको प्रभावमा हुने हिउँदे वर्षा बलियो रूपमा देखिएकाले प्री मनसुनको अवधिमा औसतभन्दा बढी वर्षा भएको महाशाखाले जनाएको छ । राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस