काठमाडौँ । गत वर्ष उच्च आयात, निराशाजनक निर्यात र बढ्दो व्यापार घाटा व्यहोरिरहेको सन्दर्भमा यस वर्षको पहिलो महिनाको व्यापारमा केही सकारात्मक सङ्केत देखापरेको छ।
गत वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो महिना साउनमा आयात साढे ११ प्रतिशतले घटेको छ। निर्यात २७।६८ प्रतिशतले बढेको छ । व्यापार घाटा करिब १४ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ। ‘यो एकदमै सुखद खबर हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘तर, हाम्रो अहिलेकै अवस्थाअनुसार बाँकी ११ महिना पनि यस्तै हुन्छ भनेर विश्वास गर्न सक्ने आधार छैन । तथ्यांकअनुसार गत वर्षको साउन महिनामा १ खर्ब २० अर्ब रुपैयाँका सामग्रीहरू आयात भए।
यस पटक १ खर्ब ६ अर्ब रुपैयाँका सामग्री मात्रै आयात भएको छ। ‘आयात निरुत्साहित गर्न सरकारले कठोर कदमहरू चालिरहेको छ । त्यसको असरले आयात घटेको हुन सक्छ,’ सुवेदी भन्छन्, ‘इनजी ड्रिक्स, जंक फुड आयात बन्द गरिएको छ । सवारी साधन आयात कम गर्नका लागि बैङ्क ऋणदेखि विभिन्न नीतिहरूमा कडाइ गरिरहेकाले आयात घट्दै गएको हो।
गत वर्ष पनि सवारी साधन र स्पेयर्स पार्टसहरूको आयात वृद्धि नगन्य मात्रामा भएको थियो। आर्थिक वर्ष २०७४र०७५ मा ८६ अर्ब ३१ करोडको आयात भएकामा २०७५र०७६ मा ९१ अर्ब १५ करोड रुपैयाँ मात्रै आयात भएको हो। वृद्धि त भएको हो तर अघिल्ला वर्षहरूको तुलनामा निकै कम हो। व्यवसायीहरूले पनि सवारी साधन आयातमा निकै गिरावट आएको बताइरहेका छन्। यसकारण व्यवसायीहरू पनि सरकारको आयात निरुत्साहित गर्ने कठोर नीतिमा सचेत देखिएको पूर्वसचिव सुवेदीले बताए ।
‘सरकारका अहिलेका नीति नियमले आयात गरेर गरिने व्यवसायमा निकै धेरै सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ,' उनले भने । आयात घट्ने मात्रै हैन, निर्यातसमेत बढ्नु आशाको सङ्केत रहेको उनले बताए।
विभागको तथ्यांकअनुसार गत वर्ष साउन महिनामा ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएकामा यस पटक ८ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ। जुन गत वर्षभन्दा २७।६८ प्रतिशतले बढी हो। निर्यातका लागि प्रोत्साहनका नीतिहरू सरकारले अगाडि सारिरहेको छ । सरकारको नीतिहरू पनि निर्यातलाई बढाउने र आयात घटाउने प्रकृतिका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस