एजेन्सी। ट्विटरका मालिक एलोन मस्कको नाममा गिनिज बुकमा कसैले पनि बनाउन नचाहने विश्व कीर्तिमान बनेको छ। उनी एक वर्षमा सबैभन्दा बढी सम्पत्ति गुमाउने व्यक्ति बनेका छन् । नोभेम्बर २०२१ र डिसेम्बर २०२२ बिच मस्कको सम्पत्तिबाट १८२ बिलियन डलर अर्थात् करिब २४ लाख करोड रुपैयाँ घटेको छ । यो रकम कतार जस्तो धनी देशको कुल ग्राहस्थ आय भन्दा बढी हो। सन् २०२१ मा कतारको कुल ग्राहस्थ आय १७६ बिलियन थियो।
नोभेम्बर २०२१ मा जब मस्क सम्पत्ति आर्जनको चरम सीमामा थिए, त्यति बेला उनको सम्पत्ति ३२० अर्ब डलर अर्थात् ४१ लाख करोड रुपैयाँ थियो। सन् २०२२ को डिसेम्बरमा उनको सम्पत्ति १३८ अर्ब डलरमा झर्यो। यसै क्रममा मस्कले विश्वकै धनी व्यक्तिको उपाधि पनि गुमाउनु परेको थियो । लक्जरी ब्रान्ड एलभीएचएमका मालिक बर्नार्ड अर्नाल्ट मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
कहाँ गयो मस्कको २४ लाख करोड ?
फोर्ब्सका अनुसार ट्विटरको अधिग्रहण विधि र टेस्लाको शेयरमा आएको गिरावटका कारण मस्कलाई ठुलो नोक्सान भएको हो। मस्कको आम्दानीको ठुलो हिस्सा टेस्ला कम्पनीबाट आउँछ। गत वर्ष २०२२ मा कम्पनीको स्टक लगभग ७० प्रतिशतले घटेको थियो। यसका मुख्य ३ कारण थिए । पहिलो- चीनमा कोरोना प्रतिबन्धका कारण उत्पादनमा ढिलाइ। दोस्रो- प्राविधिक कारणहरूले गर्दा धेरै टेस्ला मोडेलहरू फिर्ता हुनु। र, तेस्रो- ट्विटर एपिसोडले अब मस्कले टेस्लामा ध्यान केन्द्रित गर्न सक्नेछैनन् भन्ने छाप सिर्जना गर्नु। अप्रिल २०२२ मा मस्कले ट्विटर किन्न ठुलो मात्रामा टेस्लाको शेयर बेच्न थाले। मस्कले २०२२ को अन्तिम ९ महिनामा टेस्लाको २२.९ बिलियन डलरको शेयर बेचे।
टेस्लाको ब्रान्डलाई असर गर्ने मक्सको ट्विट
मस्कले २८ अक्टोबर २०२२ मा ट्विटरको जिम्मेवारी लिएका थिए। त्यसयता उनले नियमित रूपमा आपत्तिजनक ट्विट गर्दै आएका छन् । जसका कारण जनतामा उनको छवि धमिलो भएको छ । यसले टेस्ला ब्रान्डलाई पनि क्षति पुर्याएको छ ।
मर्निङ कन्सल्टले गरेको सर्वेक्षणका अनुसार अक्टोबर र नोभेम्बर २०२२ को बिचमा अमेरिकामा डेमोक्र्याटहरूबीच टेस्ला ब्रान्डको लोकप्रियता २० प्रतिशत सम्म घटेको छ। अर्थात्, त्यस्ता मानिसहरू टेस्लाको कार किन्न चाहँदैनन्।
धेरै टेस्ला लगानीकर्ताहरू पनि कम्पनीमा मस्कको प्रतिबद्धताको बारेमा चिन्तित थिए, किनकि उनीहरूले विश्वास गरे कि ट्विटर अधिग्रहणले टेस्लाबाट उनको ध्यान हट्नेछ। टेस्लाको तेस्रो ठुलो सेयर होल्डर लियो कोगुआनले १४ डिसेम्बर २०२२ मा ट्विट गरे, 'मस्कले टेस्ला छोडेका छन् र अब उनी टेस्लाको सिइओ छैनन् ।'
चीनमा टेस्ला उत्पादनमा ढिलाइ
टेस्लाले चीनमा कोरोना प्रतिबन्धका कारण उत्पादन अभावको समस्या सामना गरिरहेको छ। आपूर्ति शृङ्खला अवरोधका कारण टेस्लाले चीनका इलेक्ट्रिक वाहन कम्पनीहरूबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ।
टेस्लाको सेयर मूल्य घट्नुको अर्को कारण धेरै मोडलहरू लन्चमा ढिलाइ हो। टेस्लाको पिक अप अर्थात् साइबर ट्रकको उत्पादन पनि ढिलो भएको छ । साइबर ट्रकको डिजाइन पहिलो पटक सन् २०१९ मा सार्वजनिक गरिएको थियो । त्यति बेला कम्पनीले सन् २०२१ मा उत्पादन सुरु गर्ने भनेको थियो। यद्यपि यो अहिलेसम्म भएको छैन।
डिसेम्बर २०२२ मा मस्कले टेस्लाका कर्मचारीहरूलाई इमेलमा भने कि दीर्घकालीन रूपमा कम्पनी पृथ्वीको सबैभन्दा मूल्यवान् कम्पनी बन्नेछ। रोयटर्सका अनुसार उनले इमेलमा लेखेका छन्, ‘शेयर बजारको पागलपनबाट नआत्तिनुहोस्। हामी लगातार राम्रो गरिरहेका छौँ, बजारले निश्चित रूपमा हामीलाई चिन्नेछ। हेर्दा यो पनि सही हो । टेस्ला ७०० बिलियन डलर गुमाए पनि विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ ।
ट्विटरमा फाइदा भएन
४४ अर्ब डलरमा ट्विटर किनेर मस्कले अहिलेसम्म कुनै फाइदा पाएका छैनन् । मस्क मालिक बनेपछि धेरै कम्पनीले ट्विटरमा फेक न्युज र घृणायुक्त भाषण बढेकोमा चिन्ता व्यक्त गर्दै कम्पनीको विज्ञापन बन्द गरे।
मस्कले धेरै पैसा गुमाएको हुन सक्छ, तर टाइम म्यागेजिनले मस्कलाई अन्य अर्बपतिहरू भन्दा धेरै फरक वर्णन गरेको छ। टाइम म्यागजिनका अनुसार मस्कले चलाख र सुरक्षित लगानीको सट्टा जोखिमपूर्ण लगानी गर्छन्, जसले उनलाई फाइदा पनि पुगेको छ । यी जोखिमपूर्ण लगानीले उनलाई विश्वको सबैभन्दा धनी व्यक्ति बनायो। यसै कारणले उनी २०२१ मा टाइम पर्सन अफ द इयर बने।
मस्कको टेस्ला र स्पेसएक्स उनीहरूको क्षेत्रका शीर्ष कम्पनीहरू हुन्। टेस्ला आज इलेक्ट्रिक कारको हिसाबले ठुलो कम्पनी हो। अमेरिकी विद्युतीय सवारीको बजारमा यसको दुई तिहाइ हिस्सा छ। स्पेसएक्स निजी अन्तरिक्ष अनुसन्धानमा पनि शीर्षमा छ।
उनी आफ्नो सम्पत्ति र महत्त्वाकाङ्क्षाको बारेमा थोरै कुरा गर्छन्। तर, २०१८ मा उनले ट्विटरमा लेखेका थिए, ‘मलाई किन पैसा चाहियो भनेर सोध्न सक्नुहुन्छ? मेरो करिब आधा पैसा पृथ्वीमा समस्या समाधान गर्न र आधा मंगल ग्रहमा आत्मनिर्भर सहर निर्माण गर्नका लागि हो। अर्थात्, यदि कहिल्यै क्षुद्र ग्रह पतन वा तेस्रो विश्वयुद्धको कारण पृथ्वी नष्ट भयो भने, हामी त्यहाँ बस्न सक्छौँ।
प्रतिक्रिया दिनुहोस