वासिङ्टन । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका बीच नयाँ व्यापार सम्झौता गर्न चीनमाथि दबाब दिने उद्देश्यले संयुक्तराज्य अमेरिकाले आइतबारदेखि हुनेगरी चिनियाँ सामानको आयातमा नयाँ कर लागू भएको घोषणा गरेको छ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाइ गर्न नसकिने बताएका थिए । उनले संवाददातालाई भनेका थिए , “घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन ।” नयाँ करहरू खाद्य सामग्री, खेलकुदका सामान, सङ्गीत सामग्री र फर्निचरसमेतका दैनिक उपभोगका सामानमा करवृद्धि गरिएको छ ।
वासिङ्टनस्थित पिटर्सन अन्तर्राष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरूले अमेरिकाको पछिल्लो कदमले करिब ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्ने छ । चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गत साता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गर्नुभएको थियो।
अमेरिकातर्फ निकासी हुने कुल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुने छ। ट्रम्पको घोषणापछि यसै महिनाको सुरुमा बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो।
प्रतिक्रिया दिनुहोस