काठमाडौँ । सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ। कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन्।
सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो तीमध्ये ४० वटा स्थगन भएका छन्। कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे । उनीहरूले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन्।
अप्ठ्यारो परिस्थितिमा एक मुद्दामा दुईपटक पेसी स्थगन गर्ने सुविधा छ । यसलाई आधार बनाएर उनीहरूले अत्यधिक मुद्दा रोक्ने क्रम बढेपछि सर्वोच्चले नयाँ विकल्प खोजी गरेको हो। घरबाटै बहस गराउने विषयमा सम्भाव्यता खोजी गर्न प्रधान्यायाधीश राणाले चाँडै आईटी विज्ञसहितको समिति गठन गर्ने भएका छन्।
यस्तो अभ्यास विकसित मुलुकमा भए पनि नेपालको सन्दर्भमा नौलो प्रयोग हो। ‘मुद्दा स्थगनको अवस्था चिन्ताजनक बन्दै गएको छ। ठुलो सङ्ख्यामा मुद्दा स्थगन हुँदा न्यायसम्पादनमा असर परेको छ। यस्तो अवस्था रोक्न अब नयाँ प्रविधिको विकास गर्ने तयारीमा छौँ, ।’
सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले भने, भोलि वा पर्सिमै समिति बनाएर दसैंलगत्तै अध्ययन प्रतिवेदन तय गर्ने कुरो छ। यो प्रधानन्यायाधीशको योजनाअनुरुप हुन थालेको हो।’
सर्वोच्चमा प्रयोग र परीक्षणपछि समीक्षा गरी उच्च र जिल्ला अदालतमा पनि क्रमशः लागू गर्ने योजना छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस