aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

रगत खोज्न ‘केएसडी ब्लड एप’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
रगत खोज्न ‘केएसडी ब्लड एप’

सुर्खेत । के तपाईँलाई रगत चाहिएको छ ? रगत नपाएर तनावमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस् । अब तपाईँको चिन्ता मेट्न र समस्याको समाधान गर्न कर्णाली स्वयंसेवक दल (केएसडी) सारथी बन्ने भएको छ ।

रगत अभावमा ठूलो समस्या झेल्दै आएका सुर्खेतवासीका निम्ति स्वयंसेवक दल सुर्खेतले ‘केएसडी ब्लड एप’ सञ्चालनमा ल्याएको छ । कर्णाली स्वयंसेवक दलका अध्यक्ष सुदर्शन श्रेष्ठले स्वयंसेवक दलले सञ्चालनमा ल्याएको सो एप शनिबारदेखि पूर्णरूपमा अद्यावधिक भएको बताए ।

उहाँले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतमा इन्टरनेटको सुविधा जोडिएसँगै ब्लड एपले पूर्णरूपमा अद्यावधिक हुने भएको जनाए । “हामीले सुर्खेत जिल्लाका बिरामीका लागि चाहिने रगत पाउन सहज होस् भनेर एपको निर्माण र सञ्चालन गरेका थियौँ”, उनले भने, “तर पूर्णरूपमा अद्यावधिक हुन नसकिरहेको अवस्थामा ब्लड बैंकमा इन्टरनेट जोडिएपछि अपडेट हुने भएको हो ।”

हाम्रो साझेदार संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतसँग समन्वयमा वल्र्ड लिङ्कले सहुलियतमा इन्टरनेट जडान गरिदिएपछि सहज भएको अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधक प्रमुख देपेन्द्र केसीले इन्टरनेट जडानले कर्णाली स्वयंसेवक दलले सञ्चालन गरेको एपमार्फत छिटोछरितो तरिकाबाट रक्तदाताहरूको डाटा खोज्न सहज हुने बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष प्रवाशकुमार शाक्यले कर्णाली स्वयंसेवक दलले सञ्चालनमा ल्याएको एप प्रयोग गरेर सहज तवरबाट रक्तदाताहरूसँग सम्पर्क गर्न सकिने बताए ।रासस

प्रतिक्रिया दिनुहोस