aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बाइस वर्षमा २५ विमान दुर्घटनामा ४५९ जनाको ज्यान गयो, यती एयरका मात्रै ६ वटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ माघ २०७९
बाइस वर्षमा २५ विमान दुर्घटनामा ४५९ जनाको ज्यान गयो, यती एयरका मात्रै ६ वटा

काठमाडौं । सन् २००० देखि २०२३ को हालसम्मको अवधिमा दुई दर्जनभन्दा बढी विमान दुर्घटना भएका छन् । नेपालमा सन् २००० देखि हालसम्म २५ वटा विमान दुर्घटनामा परेका हुन् ।

सन् २००० मा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त विमान डडेलधुरामा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २००१ मा फिष्टेल एयरको विमान रारा तालमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । सोही वर्ष साङ्ग्रिला एयरको विमान कास्कीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । सन् २००५ मा एयर डाइनाष्टिकको विमान रामेछापमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो ।   

त्यस्तै, सन् २००६ को सेप्टेम्बरमा संखुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भयो। मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के समेत रहेका थिए। यसका साथै सन् २००८ को अक्टोबरमा लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते अवस्थामा फेला परेका थिए । 

सन् २०१० मा दुईवटा विमान दुर्घटना भएका थिए । त्यही वर्ष अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने २०१० कै डिसेम्बर महिनामा तारा एयरको खोटाङको लामिडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । 

सन् २०११ को सेप्टेम्बर महिनामा बुद्ध एयरको विमान ललितपुरको कोत डाँडामा  दुर्घटना भएको थियो । उक्त जहाज हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको थियो । सो दुर्घटनामा नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १९ जनाको मृत्यु भएको थियो ।   

सन् २०१२ मा दुईवटा विमान दुर्घटना भएका थिए । त्यस वर्ष सेप्टेम्बरमा काठमाडौँबाट  लुक्ला उडेको सीता एयरको विमान भक्तपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोममा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।  

सन् २०१४ को फेब्रुअरी महिनामा पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो भने सन् २०१५ को मार्च महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द भएको थियो ।  

सन् २०१५ मा नै भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरिकोटनजिकै दुर्घटना भएको थियो । जसमा अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । सोही वर्षको जुन महिनामा सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । 

सन् २०१६ को अगस्ट महिनामा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । जसमा सुत्केरी सहित शिशुसहित ७ जनाको ज्यान गएको थियो । मार्च सन् २०१८ मा दुई वटा विमान नेपालमा दुर्घटना भएका थिए । त्यस वर्षको मार्च महिनामा बाङ्ग्लादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो भने सेप्टेम्बरमा गोरखाबाट काठमाडौं आउँदै गरेको एल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबिच रहेको एउटा जङ्गलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । 

त्यस्तै, सन् २०१९ को अप्रिलमा सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु भएको थियो । सोही वर्ष फ्रेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।  

यती एयरलाइन्सको मात्रै ६ वटा विमान दुर्घटना 

सन् २००० यता मात्रै यती एयरलाइन्सको आज भएको दुर्घटनासहित ६ वटा विमान दुर्घटनामा परेका छन् । आज (आइतबार) बिहान यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । काठमाडौँबाट बिहान १०ः३२ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको विमानमा दुई पाइलट, दुई जना एयर होस्टेज र ६८ जना यात्रु सवार थिए ।  

त्यस्तै, सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । सन् २००६ मा मात्रै यती एयरलाइन्सका दुई विमान दुर्घटनामा परेका थिए । यस वर्ष यती एयरलाइन्सको विमान जुम्लामा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने अर्को लुक्लामा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । 

यती एयरलाइन्सकै सहायक कम्पनी तारा एयरको विमान सन् २०१६ मा दुर्घटना भएको थियो । त्यस वर्षको फेब्रुअरी महिनामा पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । सन् २०१० को डिसेम्बर महिनामा तारा एयरको विमान खोटाङको लामिडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालक दलका तीन सदस्यको मृत्यु भएको थियो । 

त्यस्तै, सन् २०२२ को मे महिनामा पनि पोखराबाट जोमसोमका लागि उडेको तारा एयरका अर्को विमान दुर्घटना भएको थियो । उक्त विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो ।      

प्रतिक्रिया दिनुहोस