aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

विमान दुर्घटनामा ७२ जनाकै मृत्यु, को–को थिए ?

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०२ माघ २०७९
विमान दुर्घटनामा ७२ जनाकै मृत्यु, को–को थिए ?

पोखरा । पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव संकलन गरिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव संकलनमा कठिनाइ भएको छ । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु भएको यो पहिलो घटना हो । पोखराको यो घटनाले आइतबार सिंगो मुलुक नै शोकमय बन्न पुगेको थियो । सरकारले सो घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडांैंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग सेती नदीको खोंचमा अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।

विमान खसेको स्थान पुरानो विमानस्थलको पूर्वपट्टिको नेपाली सेनाको ब्यारेक पछाडि पर्छ । नयाँ विमानस्थलतर्फ ल्यान्ड गर्न मोडिएको अवस्थामा विमान दुर्घटनामा परेको स्थानीय बताउँछन् । विमानस्थलले अतवरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मौसमको समस्या नभए पनि विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

विमानमा सवार हुनेमा किसान आचार्य, निशान्त आचार्य, शालिकराम आचार्य, सदाकत अलिमियाँ, पूर्णबहादुर गुरुङ, जीतेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीताकुमारी खड्का थिए । यस्तै, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुशवाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चूर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना थिए ।

विदेशी नागरिकमा मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बन्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेन्डर आइरिडोरे थिए । शिशुहरूमा कृष परियार, प्रसिद्धि पौडेल, आयुर्दी शर्मा, बेबी शर्मा थिए । अन्य २ शिशुको नाम खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस