aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

सवारी दुर्घटनाको पनि झन् विकराल छ समस्या

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • सोमबार, ०२ माघ २०७९
सवारी दुर्घटनाको पनि झन् विकराल छ समस्या

काठमाडौं । मुलुकमा सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था पनि डरलाग्दो छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२र७३ यता सडक दुर्घटनाबाट १२ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ८६ जना अंगभंग भएका छन् । 

काभ्रेको बेथानचोकमा गत मंसिर २७ मा बस दुर्घटनामा पर्दा एकै परिवारका ८ सहित १८ जनाको मृत्यु थियो । गत असोज २० मा हेटौंडाबाट वीरगन्ज गइरहेको बस बाराको अमलेखगन्जमा दुर्घटना हुँदा १६ जनाले अकालमै ज्यान गुमाएका थिए । २०७८ फागुनमा संखुवासभाको मादीबाट झापा जाँदै गरेको बस मादीकै पुलुङमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भयो । त्यही वर्षको असोज २६ मा बाँकेको नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस मुगुको छायानाथ (पिना) मा दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाए ।

यान्त्रिक परीक्षणबिनै सवारी गुडाउने, चालकले मादक पदार्थ सेवन गर्ने, इन्जिनियरिङबिनै सडक खन्ने, पैसा कमाउने लोभमा चालकले आराम नगर्ने, द्रुत गतिमा सवारी गुडाउनेजस्ता कारणले सडक दुर्घटना भइरहेको देखिन्छ । दुर्घटनाको कारण पहिचान गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्नेतर्फ सरकारको पर्याप्त ध्यान गएको पाइँदैन ।

नेपाल प्रहरीले २०७५ मा गरेको एक सर्वेक्षणमा बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म २६ प्रतिशत, १२ बजेदेखि साँझ ६ बजेसम्म ३२ प्रतिशत, साँझ ६ देखि राति १२ बजेसम्म २८ प्रतिशत र त्यसपछि बिहान ६ बजेसम्म १४ प्रतिशत दुर्घटना हुने गरेको पाइएको थियो । प्रहरीको सीआईडी म्यागजिन–२०७६ अनुसार यो एक वर्षको दुर्घटनालाई अध्ययन गरेर तयार पारिएको तथ्यांक हो । तर त्यसअनुसार दुर्घटना रोकथाम तथा नियन्त्रणको कार्यक्रम ल्याइएन ।  

प्रतिक्रिया दिनुहोस