aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
टिप्पणी

बिस दिनमै निराश पारे गृहमन्त्री रविले, हुन थाल्यो ‘मट्याङ्ग्राको सत्यानाश !’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
बिस दिनमै निराश पारे गृहमन्त्री रविले, हुन थाल्यो ‘मट्याङ्ग्राको सत्यानाश !’

नयाँ सरकारका मन्त्रीहरूको प्रारम्भिक सूची देख्ने बित्तिकै धेरै जनाले टिप्पणी गरेका थिए, ‘अनुभव नभएकाको हातमा महत्त्वपूर्ण मन्त्रालय दिइयो । जिम्मेवारी पुरा गर्न कठिन छ ।’ महिना दिन पनि नबित्दै मानिसहरूको त्यो आशङ्का मात्रै सत्य बनेन की नेपालमा चर्चित अर्को उक्ति पनि चरितार्थ भयो- केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश । 

हो, टेलिभिजनबाट डंका पिटेर लोकप्रिय बन्दै ठिक मौकामा दल खोलेर ढोक्सेमा राम्रै माछा पार्न सफल गृहमन्त्री रवि लामिछानेले मट्याङ्ग्रा सिध्याउने तर, सिकार भने नमार्ने लक्षण देखाए–विमान दुर्घटना हुँदा सार्वजनिक बिदा दिएर ।

मन्त्रीपरिषद्ले नै निर्णय गरेर दोष आफूले मात्रै नभोग्ने तर, जस पाइहालियो भने त्यो चाहिँ आफ्नै खल्तीमा मात्रै थाप्ने उनको रणनीति भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अति भावुकताका कारण सफल बनेको छ । त्यसैले अहिले सामाजिक सञ्जालदेखि सार्वजनिक टिप्पणीहरूमा भइरहेको सार्वजनिक बिदाको विरोधको निशानामा सिङ्गो सरकार छ, लामिछाने मात्रै छैनन । 

यहाँ लामिछानेलाई मात्र किन केन्द्रमा राख्न खोजिएको हो भने उनलाई त्यो ठाउँमा पुर्‍याउने मध्येका अधिकांश मतदाता युवा हुन् । उनीहरूले पुरातन राजनीतिक लाभ हानी भन्दा बाहिर निस्केर रविले व्यवहारिक र मुलुकको सर्वागिंन हित हुने मात्रै निर्णय गर्छन् भन्ने विश्वासका आधारमा मत दिएका थिए । तर, उनीप्रतिको त्यो आशामा माघे सङ्क्रान्तिकै दिन तुसारापात भएको छ । 

विमान दुर्घटनाको खबर सुन्नेवित्तिकै बसेको मन्त्रीपरिषद्को बैठकले केही कडा र आम मानिसले सही भन्न सक्ने खालको निर्णय गर्ला भन्ने अपेक्षा थियो । तर, त्यस विपरीत उनीहरूले केटाकेटी निर्णय मात्रै गरेनन् सर्वाधिक सुरक्षित मानिने हवाई यात्रालाई नेपालमा दिन प्रतिदिन अविश्वसनीय बनाउँदै गएका विमान कम्पनीहरूलाई नै राहत मिल्ने खालका निर्णय गरेर बैठक सम्पन्न गरे । 

आठ महिनाको अवधिमा एउटै कम्पनीको दुई वटा विमान दुर्घटना हुनु सामान्य कुरा होइन । तर, यती एयरलाइन्सका विमानहरू एक पछि अर्को गर्दै दुर्घटनामा परिरहेका छन् । सन् २००० यता मात्रै यो एयरलाइन्सका ६ वटा विमान दुर्घटनामा परिसकेका छन् । तथापि यती एयरलाइन्सले हवाई यात्रा सुरक्षाका लागि कति गम्भीरता देखाइरहेको छ भन्नेबारे कसैले चासो देखाएको छैन । 

कारण स्पष्ट छ, नेपालका व्यापारीहरू विशेषहरू एयरलाइन्सका मालिक त्यसमा पनि यतीका साहु राजनीतिकरुपमा संरक्षित नै व्यक्ति हुन् भन्ने कुरा सुझाइराख्नु पर्दैन । त्यही आडमा उनीहरूले सरकारका सार्वजनिक जग्गामा कब्जा जमाइरहेकै अवस्था छ । गोकर्ण रिपोर्टदेखि हायात रिजेन्सीसम्म पनि गैर कानुनी कब्जा जमाएर ब्रह्मलुट मच्याइरहेकाहरुले पैसा मात्रै कमाउने उद्देश्यबाट सञ्चालन गरेको यती एयरलाइन्सले ठूलो संख्यामा यात्रुहरूको ज्यान लिँदै आइरहेको छ । 

आकाशमै रहँदा प्लेनमा आगोको झिल्को देखिएको भन्ने भनाइदेखि कतै विमान को– पाइलट (सहचालक)ले ल्यान्डिङ गर्न खोज्दा दुर्घटना भएको होइन भन्ने आशङ्कामा यतीको द्रव्य मोहको गन्ध आउँछ । 

के उनीहरू उडिरहेको विमानमा पाइलटको तालिम चलिरहेको छ भन्ने जानकारी यात्रुहरूलाई यती एयरलाइन्सले दिएको थियो ? यदि थिएन भने को पाइलट अञ्जु खतिवडाको उडान र अवतरणको सङ्ख्या पुरा गर्ने नाममा त्यति धेरै यात्रुहरूको ज्यान जोखिममा किन पारियो ? सो उडान अनुभवी पाइलट कमल केसी कै क्याप्टेन सिपमा अर्थात् पूर्णरुपमा उनकै नियन्त्रणमा रहेको भन्ने विश्वासमा उडिरहेका यात्रुहरूमाथि जुन अक्षम्य अपराध भयो त्यसको जिम्मेवारी कसले लिने ?  

यदि साँच्चै गम्भीरता नै थियो भने सरकारले यी र यस्ता धेरै प्रश्नहरूको जवाफ नपाउन्जेल, यतीका सबै विमानहरूको अन्तर्राष्ट्रिय विज्ञहरुद्धारा प्राविधिक परीक्षण नहुन्जेल, सो विमान कम्पनीमाथि कडाइका साथ पेस हुनु पर्थ्यो । यती एयरलाइन्सका सबै विमानहरूलाई ग्राउण्डेड गर्नु पर्थ्यो । कम्पनीका मालिक र उच्च प्रशासकहरूले वकिलहरूको सल्लाह लिने र अनेकौँ कथा रच्ने समय पाउनु पूर्व नै नियन्त्रणमा लिएर सोधपुछ र छानबिन सुरु गर्नु पर्थ्यो । 

तब न हुन्थ्यो देशमा रवि लामिछाने गृहमन्त्री भएको अनुभूति । मुलुक वास्तवमै जिम्मेवार र सही व्यक्तिहरूको हातमा पुगेको महसुस । तर, खुब गम्भीर भएको देखाउन सरकारले सार्वजनिक बिदा दियो । र, अन्ततः त्यही नै भयो जुन यो टिप्पणीको सुरुवातमा भनिएको छ, ‘मट्याङ्ग्राको सत्यानाश !’

 

प्रतिक्रिया दिनुहोस