काठमाडौँ। आठ महिना अघि पनि यति एयरलाइन्सको विमान दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको थियो । पोखराबाट पर्यटकीय स्थल जोमसोमका लागि उडेको विमान दुर्घटनाको कारण खराब मौसम रहेको बताइएको थियो। तर, हिजो पोखरामा भएको यति एयर कै ठुलो जहाजको दुर्घटनाको कारण भने मौसम होइन। पछिल्लो एक दशकमा यो १९ औँ दुर्घटना हो, जसमध्ये १० वटा घातक साबित भएका छन् । जसका कारण नेपाल हवाई यात्राका लागि असुरक्षित देशको सूचीमा पर्ने सम्भावना बढेको छ।
चार वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा प्रतिवेदन जारी गरेको थियो। जसमा देशको भूगोल अर्थात् भौगोलिक संरचनाले विमान उडानमा कठिनाइ भएको स्वीकार गरिएको थियो।
नेपालमा हिमालको बिचमा रहेका मानव बसोबास भएको क्षेत्रमा जान साना हवाईजहाजको प्रयोग हुने गरेको छ । यसलाई उडान र अवतरणको लागि धेरै ठाउँ चाहिँदैन। यद्यपि यो पनि समस्याको एक प्रमुख कारण हो। नागरिक उड्डयन मन्त्रालयका अनुसार १९ सिटर वा सो समान क्षमताका विमान छिट्टै असन्तुलित भएर दुर्घटनाको सिकार हुने उच्च सम्भावना रहेको हुन्छ।
लुक्ला नामले चिनिने नेपालको तेन्जिङ हिलारी विमानस्थल विश्वकै सबैभन्दा डरलाग्दो विमानस्थलमा गनिन्छ । सगरमाथा नजिकै निर्माण गरिएको यो विमानस्थल ९ हजार ३ सय २५ फिटको उचाइमा छ। निकै सानो रनवे भएकाले यहाँ साना विमान मात्र अवतरण गर्न सकिन्छ । यसको एकातिर पहाड र अर्कोतिर गहिरो खाडल पनि छ । यही कारणले गर्दा नेपालको उत्तर पूर्वी क्षेत्रमा रहेको यो विमानस्थललाई विश्वकै खतरनाक विमानस्थल भनिन्छ ।
नेपालमा धेरै पुराना विमानहरूको प्रयोग भइरहेको भन्ने टिप्पणी अन्तर्राष्ट्रिय रूपमा नै उठ्दै आएको छ। त्यस्ता विमानहरू खराब मौसममा भरपर्दो छैनन्। यही कुरालाई ध्यानमा राख्दै एक वर्षअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले नेपालसँग विमान दुर्घटना रोक्न साझेदारी गरेको थियो । त्यसपछि सुरक्षा मापदण्ड बढेको छ तर दुर्घटनाहरू अझै भइरहेका छन्। तथापि नेपाल संसार कै सर्वाधिक विमान दुर्घटना हुने मुलुक चाहिँ होइन।
इन्डोनेसिया सर्वाधिक असुरक्षित
एभिएसन सेप्टी नेटवर्कको तथ्याङ्कले नै इन्डोनेसियामा हालसम्म १०४ विमान दुर्घटना भएको उल्लेख गरेको छ। जनवरी २०२१ मा भएको ठुलो दुर्घटनामा चालक दलका सदस्यसहित ६२ यात्रुको मृत्यु भएको थियो। अक्टोबर २०१८ मा पनि यस्तै दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो । त्यस बेलादेखि, इन्डोनेसियाको उड्डयन उद्योगबारे अविश्वास बढ्न थाल्यो।
यो देश उत्कृष्ट सुन्दरताको बाबजुद हवाई यात्राको लागि सबैभन्दा खतरनाक मानिन्छ। त्यहाँ हुने विश्वको सबैभन्दा सक्रिय ज्वालामुखीको उपस्थिति पनि विमान दुर्घटनाको कारण मानिएको थियो। इन्डोनेसियामा कुल १२१ ज्वालामुखीहरू छन्, जसमध्ये अधिकांश सक्रिय छन्। तिनीहरू जुनसुकै बेला विस्फोट हुन्छन् र आकाशमा धुलोको बादल लाग्छ। यो धुलो विमानको इन्जिनमा गएर अवरोध गर्न सक्छ । सन् २०१९ मा माउन्ट अगुङ ज्वालामुखी विस्फोट भएपछि बाली टापुको दक्षिणबाट आउने सबै उडान केही समयका लागि रद्द गरिएको थियो ।
प्राविधिक गडबडीका अतिरिक्त, खराब मौसम प्रायः विमान दुर्घटनाको कारण हो। खराब मौसम इन्डोनेसियामा लगभग दैनिक देखिने घटना हो। विश्वको सबैभन्दा धेरै टापु मिलेर बनेको यो देशमा बारम्बार आँधी र चट्याङ पर्ने गरेको छ । यो कुनै पनि बेला हुन्छ। इन्डोनेसियाको उड्डयन मन्त्रालयले यसलाई आफ्नो मुलुकमा हुने दुर्घटनाको कारण भन्दै आएको छ।
प्रतिक्रिया दिनुहोस