aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जहाज दुर्घटना : दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ माघ २०७९
जहाज दुर्घटना : दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु

कास्की । परिवारलाई सान्त्वना दिन आज दिउँसो नेकपा (एकीकृत समाजवादी) का नेता र स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा । बैठक कोठाको ‘लोबेड’ मा सुतिरहेका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो । त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उहाँको मोबाइलमा फोन गरे तर पहिलो पटक श्रेष्ठको फोन उठेन, पुनः अर्को पटक फोन गर्नुभयो, श्रेष्ठले दोस्रो पटकको फोन उठाए तर श्रेष्ठको वाक्य स्पष्ट हुनै सकेन । 

उनी छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिनु हुन्थ्यो । विभिन्न रोगसँग लड्दै आउनुभएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाबाट परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सेती खोँचमा भएको  जहाज दुर्घटनामा परेर निधन भएको छ ।    

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना श्रेष्ठ र १५ महिने नाबालक नातिको सपना अधुरै बन्यो । 

आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील र उनकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको  छिमेकी कृष्णमान पालिखेले बताए । “सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ”, उनले भने, “भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।”

एकीकृत समाजवादीका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो । सुशीलकी आमा पनि अर्धचेत अवस्थामा छन, घरिघरि छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उनलाई । 

उनीहरू तीन जनाकै शव फेला परिसकेको छ तर शवहरू क्षतविक्षत अवस्थामा छन् । दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ । डा सोना पनि एमडी गर्दै हुनुहुन्थ्यो । डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका छन । 

तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ । मङ्गलबार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । आज मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएर फर्किएका छन् । शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले आज शव बुझ्न सकेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस