
काठमाडौं । भारतबाट अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयातका कारण नेपालको पोल्ट्री ब्यवसायी नै धरासायी हुँदै गएको छ ।
भारतबाट अबैध रुपमा अण्डा, मासु र चल्ला आयात रोक्नका लागि ब्यवसायीहरुले नेपाल प्रहरीसँग बारम्बार माग गर्दा पनि सुनुवाइ नभएको गुनासो पोल्ट्री ब्यवसायीले गृहमन्त्री रवि लामिछानेलाई नै राखेका छन् ।
२०७९ पुस २८ गते पोल्ट्री ब्यवसायीले भारतबाट अवैध रुपमा अण्डा, चल्ला र मासु भित्रिएको सप्रमाण सूचना दिंदा पनि प्रहरीले बेवास्ता गरेको गुनासो गृहमन्त्री लामिछानेलाई राखे ।
पोल्ट्री ब्यवसायीहरुको गुनासो सुनिसकेपछि कार्यक्रमस्थलबाटै मन्त्री लामिछानेले नेपाल प्रहरीका आइजीपी धिरजप्रताप सिंहलाई फोन गरी भारतबाट अवैध रुपमा आयात हुने अण्डा, मासु र चल्ला रोक्न निर्देशन दिए । आइजीपी सिंहले गृहमन्त्री लामिछानेसँग कुखुराको मासु, अण्डा र चल्ला आयात रोकिरहेको दाबी गरेको वार्ता भिडियोमा पनि सुन्न सकिन्छ । पोल्ट्री ब्यवसायीहरुले प्रहरीकै सेटिङमा भारतबाट अबैध रुपमा मासु, अण्डा र चल्ला भित्रिने गरेको कुरा किन राखे त रु
प्रहरीकै सेटिङमा बीरगजबाट सबैभन्दा बढी अण्डा, कुखुरा, कुखुराको मासु र चल्ला आयात हुने गरेको स्रोत बताउँछ । सर्वेन्द्र खनाल आइजीपी हुँदा प्रहरी प्रधान कार्यालयबाटै इन्स्पेक्टर कृष्णदेव साहको नेतृत्वमा मधेश प्रदेशमा घुमुवा परिचालन गरी अतिरिक्त रकम असुली गर्ने गरिएको विषय विवादमा आएको थियो ।
वर्तमान आइजीपी धिरजप्रताप सिंहले केन्द्रबाटै घुमुवा नखटाए पनि पर्सामा आफूनिकट एक प्रहरी नायब निरीक्षक (वरिष्ठ सई०)लाई राखेका छन् । ती हुन्, विनोद सिंह । तिनै विनोद सिंहले आईजीपी सिंहको धाक दिंदै भारतबाट कुखुरा, कुखुराको मासु, अण्डा र चल्ला अवैध रुपमा नेपालमा ल्याउने गिरोहसँग सेटिङ गरेको आरोप छ ।
यसअघिका एसपी रमेश बस्नेतले वरिष्ठ सई सिंहका बारेमा धेरै गुनासो आएपछि सरुवा गर्न खोजे पनि हेडक्र्वाटरकै संरक्षण भएकाले गर्न सकेनन् । पर्साको एसपी हुँदै मधेश प्रदेशको डीआइजी भएका वर्तमान आइजीपी सिंहलाई बीरगंजबाट हुने कुखुरा, अण्डा र चल्लाको तस्करीबारे अवगत हुँदा पनि किन तस्करी रोकिएन भन्ने प्रश्न गृह मन्त्रालयमा आजभोलि चर्चाको विषय भएको स्रोत बताउछ । तर नेपालको पोल्ट्री ब्यवसाय नै धरासायी पार्ने तस्करी नियन्त्रण गर्न प्रहरीले चासो नदेखाएकाले पनि ब्यवसायीहरुले गृहमन्त्री लामिछानेसँगै गुनासो गरेको बताउछन् । साँघु साप्ताहिकमा समाचार छ ।
पर्साका विभिन्न नाकाबाट मोटरसाइकलमा रातिराति कुखुरा नै बोकेर नेपालतर्फ आएका तस्बिर र भिडियोसहित ब्यवसायीले उजुरी दिंदा समेत सुनुवाइ भएको थिएन । लाखौ लाख घुस खुवाएर कुखुरा, अण्डा र चल्ला तस्करी गर्ने गिरोहको कनेक्सन प्रहरीको उपल्लो तहसम्म भएकाले पनि निर्बाध रुपमा नेपालमा अवैध रुपमा ल्याउने छुट पाएका थिए ।
प्रतिक्रिया दिनुहोस