
मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा रवि लामिछानेको नयाँ पार्टीले उल्लेखनीय मत प्राप्त गर्यो । सायद, उनी स्वयम् ले नै पनि कल्पना गरेका थिएनन् होला की नयाँ संसद्मा उनले २० जना सांसद छिराउन सक्छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सङ्कटमा रहेको पार्टीलाई बलियो त्राण दिन सक्ने गरी १४ जना सांसदलाई प्रतिनिधिसभामा सदस्य बनाउन सफल भए । यो पनि उनको राम्रै राजनीतिक उपलब्धिमा पर्छ ।
यी दुवै 'युवा नेता'ले प्राप्ति गरेको सफलताका पछाडि एउटा शब्दको महत्त्वपूर्ण भूमिका छ । त्यो शब्द हो, 'चोर' । रवि लामिछाने टेलिभिजनमा हरेक दिन जसो राजनीतिक दलका नेताहरूका विरुद्ध यही शब्द प्रयोग गर्दै घोक्रो फुलाएर चिच्च्याउथे । जसले उनलाई बच्चादेखि वृद्धसम्म सबैका बिचमा लोकप्रिय बनायो । अनि मतदाताले त्यही स्मरण गर्दै घण्टीमा मत हालेर स्वतन्त्र पार्टीलाई अनुमोदन गरे । त्यो जनादेश हो- चोरलाई कारबाही गर्ने र साधुलाई सम्मान ।
त्यसैगरि, अघिल्लो साल मङ्सिर २४ गतेका दिन काँग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजेन्द्र लिङदेनले लोकप्रिय वाक्य बोले–'गाउँघरमा कार्यकर्ताले नेता आउनुभएको छ, आउनुस् चौतारोमा भनेर बोलाउँदा जनताहरूले कुन नेता आएछ सोध्दैनन्, कुन चाहिँ चोर आएछ भन्छन्।' त्यस बेला खुबै चर्चा पाएको यो वाक्यले लिङदेनलाई एकाएक नायक बनायो । मतदाताहरूले विश्वास गरे - कम्तीमा यो मान्छेमा चोर र साधु छुट्ट्याउने क्षमता छ, कसलाई चौतारोमा बोलाउने र कसलाई सुली चढाउने भन्ने छुट्याउन सक्छ ।
तर, माघ ३ गते प्रचण्ड नेतृत्वको सरकाले पूर्णता पाउँदै गर्दा राप्रपा र रास्वपालाई दिएको जनादेशको लिङदेन र लामिछानेले अवमूल्यन मात्र गरेनन् की उनीहरूप्रति आम मतदाताले गरेको विश्वास र भरोसामा तुसारापात समेत भएको छ ।
आम मतदाताहरूले मात्र होइन की स्वयं तिनै पार्टीका नेता र कार्यकर्ताले समेत सोचेका थिएनन् लिङदेन र लामिछाने पद लोलुप छन् । उनीहरूले अपरिपक्व निर्णय गर्ने हुन् की भन्ने आशङ्का त थियो तर, यति विघ्न कच्चा र लोक लाज नै पचाएर समाजमा दूषित छवि बनाएका व्यक्तिहरूलाई मन्त्रीजस्तो जिम्मेवार पद दिएर पुरस्कृत गर्लान् भन्ने चाहिँ सायदै कसैले सोचेका थिए ।
माघ ३ गते राष्ट्रपतिद्वारा शपथ खाएका मन्त्रीहरूको सूचीमा म्यानपावरका एजेन्ट डोलप्रसाद अर्याल र विक्रम पाण्डेको नाम देख्दा भने लोक नै चकित भयो । चकित यसकारण बनेको हो कि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने राजेन्द्र लिङदेन आफू उपप्रधानमन्त्री बन्दै अरबौँ रुपैयाँको ठेक्का सेटिङको भरमा लिने र अलपत्र छाड्ने भनेर चिनिएका कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेलाई त्यही मन्त्रालयको जिम्मा दिए जुन मन्त्रालय उनी सेटिङ मिलाएर काम गर्थे । अब मन्त्री पाण्डे नीतिगत भ्रष्टाचार गर्न सक्ने ठाउँमा पुगेका छन् । यसमा कुनै शङ्का छैन की उनले आफ्नो व्यापार व्यवसायलाई दीर्घकालीन रूपमा सहज हुने गरी धेरै नीतिगत भ्रष्टाचारहरू गर्नेछन् ।
प्रश्न यो हो की, माघ ३ गते मङ्गलवार गरेको निर्णयलाई लिङदेनले आमाको रगत खाएको मान्छे नै मान्दैनन् ? विक्रम पाण्डेलाई सहरी विकास मन्त्रालयको जिम्मा दिनु भनेको आफैमा भ्रष्टाचारजन्य कसुर हो भन्ने कुरा एक वर्ष अघि नै चोर र साधुको बिचको भिन्नता छुट्याउन सक्ने सार्वजनिक गरेका कुरा लिङदेनले नबुझेको पक्कै होइन । अब जानी जानी उनैले ‘आमाको रगत’ खाइसकेपछि हिन्दु धर्मका घोषित रक्षक माननीय उपप्रधानमन्त्री राजेन्द्र लिङदेनबारे थप टिप्पणी गर्नु समयको बरबादी मात्र ठहर्न सक्छ ।
अब कुरा गरौँ, महामहिम उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको । आफ्नै विरुद्धको मुद्दा कमजोर पार्ने र सफाइ लिने प्रमुख उद्देश्यका साथ गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेले अर्को पनि महत्त्वपूर्ण लक्ष्य राखेका रहेछन् भन्ने श्रम मन्त्रीको रूपमा म्यानपावरका दलालीलाई स्थापित गरेपछि खुलेको छ । यसमा कुनै शङ्का नगरे हुन्छ की सजिलै पैसा कमाउने देश विदेश सबैतिर सेटिङ मिलाएर राम्रै असुली धन्दा चलाउन मिल्ने यो मन्त्रालयमा उनले सिद्धहस्त दलाललाई त्यसै नियुक्त गरेका होइनन् ।
उनले टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहँदा व्यापारीलाई धम्क्याएर पैसा असुल्छन् भन्ने आरोप लागेको थियो । उनको नाम लिँदै आत्महत्या गरेका एक पत्रकारको मृत्यु प्रकरणमा अदालतले सफाइ दिए पनि धेरै मानिसहरूले सो प्रकरणमा ‘दालमा कालो’ पक्कै थियो भन्न छाडेका छैनन् । भर्खरै उनले नागरिकता प्रकरणमा अदालतले दिएको जवाफले पनि उनी भित्रैबाट भ्रष्ट मानसिकता भएका व्यक्ति हुन् भन्ने पुष्टि भइसकेको छ ।
अब लामिछानेले कसरी र कस्ता भाषण र शब्दद्वारा आफूलाई असल र आफ्नो निर्णयलाई साबित गर्न प्रयत्न गर्छन् त्यो त हेर्न बाँकी नै छ । अहिलेलाई उनको मन्त्री छनौटको निर्णयमा मात्र केन्द्रित भएर पनि यती चाहिँ भन्न सकिन्छ की केही महिना अघिसम्म अत्यन्तै चल्तीको मुद्रा रहेका लामिछाने अब भने खोटो सिक्काका रूपमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस