काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् ।
मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरे । घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने थिए । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला थिए ।
एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो । विसं २०१३ मा ताप्लेजुङमा जन्मेका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुन् । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनी एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज हुन् ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस