aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

लगानी बोर्डलाई बुझाइयो पश्चिम सेती जलविद्युत् आयोजनाको निरीक्षण प्रतिवेदन

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०६ माघ २०७९
लगानी बोर्डलाई बुझाइयो पश्चिम सेती जलविद्युत् आयोजनाको निरीक्षण प्रतिवेदन

काठमाडौं । भारतीय सरकारी ऊर्जा उत्पादक कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) इन्डियाले जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निरीक्षण प्रतिवेदन (इन्स्पेक्सन रिपोर्ट) लगानी बोर्डलाई बुझाएको छ । 

७५० मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको सर्वेक्षण अनुमति प्राप्त गरेको सो कम्पनीले थप अध्ययनका लागि आवश्यक विवरण समावेश गरी बिहीबार सो प्रतिवेदन बुझाएको हो ।

सुदूरपश्चिम प्रदेशको सेती नदीमा पहिचान भएको प्रस्तावित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका लागि अध्ययन गर्न गत कात्तिक ३ गते एनएचपीसीले सर्वेक्षण अनुमति पाएको थियो । अनुमतिपत्रअनुसार एनएचपीसीले तीन महिनाभित्र यस्तो रिपोर्ट बुझाउनुपर्ने समयसीमा दिइएको थियो । सोहीअनुसार बिहीबार यो रिपोर्ट पेस गरिएको हो । 

पश्चिम सेती आयोजना सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा पनि समावेश गरेको छ । एनएचपीसीका अधिकारीले स्थलगत अनुगमन गरी आयोजनाको विस्तृत परियोजना अध्ययनका लागि गर्नुपर्ने अध्ययन र त्यसका विधि सो रिपोर्टमा बोर्डलाई बुझाइएको छ । खास गरी आयोजनाको वातावरणीय भौगर्भिक अध्ययनसम्बन्धी विवरण बाँध तथा अन्य संरचना निर्माणबारे गर्नुपर्ने आवश्यक अध्ययनका विधि, त्यसको कार्यविवरण र कार्यविधि पनि सो रिपोर्टमा समावेश गरिएको छ । 

बोर्डले सो रिपोर्टको अध्ययन गरेर १५ दिनमा रायसुझाव एनएचपीसीलाई दिनेछ । अध्ययन गर्ने विषयवस्तु छुटेको अथवा विधि तथा समयसीमा सबैको अध्ययन बोर्डले गरेर त्यसलाई अझै वस्तुपरक बनाउनेछ ।

गत जेठ ३१ गते मन्त्रिपरिषद्ले पश्चिम सेती र सेती नदी–६ (एसआर सिक्स) जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीलाई अनुमति दिने निर्णय गरेको थियो । सोअनुसार गत भदौ २ गते लगानी बोर्ड र एनएचपीसीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

पश्चिम सेतीको सर्वेक्षण अनुमतिपत्र लिइसके पनि एनएचपीसीले एसआर सिक्सका लागि भने सर्वेक्षण अनुमतिपत्रका लागि अझै आवदेन गरिसकेको छैन । यसका लागि अझै करिब एक महिना समयावधि बाँकी रहेको बोर्डले जनाएको छ ।

सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा पश्चिम सेती निर्माण गर्न आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपीसीलाई जिम्मा दिएको हो । 

 

प्रतिक्रिया दिनुहोस