ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाइ महिनादेखि उडान बन्द भएको छ। नेपाल वायुसेवा निगमले मात्र उडान सञ्चालन गर्दै आएकोमा प्रतिकूल मौसमका कारण अढाइ महिनायता उडान अवरुद्ध बनेको हो । यसबाट सेवाग्राही (यात्रु) मारमा परेका छन्।
प्रत्येक सोमबार, बुधवार र शनिवार गरी हप्ताको तीन दिन उडान सञ्चालन हुने गरेको थियो। मौसमको कारण देखाइ गत जेठ २९ गतेबाट उडान ठप्प भएको हो। अढाइ महिना बढी समय बितिसक्दा र मौसममा समेत सुधार आइसक्दा पनि उडान सञ्चालनमा नआउँदा यात्रुमा निराशा छाएको छ। लामो समयसम्म अवरुद्ध बनेको उडान अझै सुचारु नहुँदा नजिकिँदै गरेको दसैँ-तिहारजस्ता चाडपर्वमा पनि हवाई सेवाबाट वञ्चित हुनुपर्ला कि भन्ने चिन्ता यात्रुमा सुरु भएको छ।
सुकेटार विमानस्थलमा पहिलेदेखि उडान भर्दै आएको ट्विनअटर जहाजबाहेक नेपाल वायुसेवा निगमले नयाँ जहाज पनि परीक्षण उडान गरेको छ। गत साउन तेस्रो साता निगमले चाइनिज जहाज वाई-१२ को परीक्षण उडान गरेको र त्यसपछि उडान नियमित हुनेमा यात्रु तथा जिल्लावासीले अपेक्षा राखेका थिए।
अहिलेसम्म जिल्लावासीको आशा पूरा हुन सकेको छैन । यता नेपाल वायुसेवा निगमको ताप्लेजुङस्थित स्टेसन इन्चार्ज राजु कार्कीले उडान सुचारु गर्न यात्रुको पर्खाइमा रहेको बताए।
मौसममा सुधार आएपछि तत्काल उडान सञ्चालन गर्न निगम तत्पर रहेको भए पनि जिल्लाबाट काठमाडौँ र काठमाडौँबाट जिल्लाका लागि यात्रु नभएकाले उडान सञ्चालनमा ल्याउन नसकेको कार्कीले जानकारी दिए।
दुई/तीन हप्ता अघिदेखि नै उडान सुरु गर्ने तयारी गरिएको भए पनि काठमाडौँबाट एकै जना यात्रु नभएको र ताप्लेजुङबाट काठमाडौँका लागि पनि दुई जना मात्र यात्रु सम्पर्कमा आएकाले सोमबारको उडानसमेत रद्द भएको उनले बताए ।
अब भने चार/पाँच जनासम्म दुवै तिरका लागि यात्रु हुने भएमा उडान सञ्चालन गर्ने सोचमा निगम रहेको उनले बताए।
जहाज नउडेकाले यात्रु सम्पर्कमा नआएको हुन सक्ने भन्दै उडानको प्रचारकै लागि एक/दुई पटकसम्म थोरै यात्रु बोकेर भए पनि उडान सञ्चालनमा ल्याउने हो कि भन्ने निगमले सोच बनाएको उनको भनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस