aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ माघ २०७९
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । अहिले मौसम विस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ । 

आज विहान भिजिबिलिटी कम हुँदा विहान नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसक्दा भारतको कोलकात्ता ‘डाइभर्ट’ भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।

त्यस्तै भारतको मुम्बइबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो । मौसम अनुकूल बन्दै गएकाले अहिले उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस